बुधबार, पुष १६, २०८२

प्रोत्साहन भत्ता नपाएपछि चिकित्सकले गरे गुनासो

मेरोन्यूज २०७८ माघ २२ गते ११:५६
Set of doctors

तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत चिकित्सकले ०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाउन नसकेका हुन् ।

अस्पतालमा कार्यरत डाक्टरहरू आस्था रेग्मी, राजु राना मगर, दिवस ढकाल, सुनयन सुवेदी, सिन्चन पाण्डे, पुजा सैजु, प्रशन्न कार्की, अभिनन्दन तिवारी, सञ्जिव भण्डारी, कृष्ण गिरी र सुशील विकले १८ महिनादेखि प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका हुन् । अस्पतालमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सकले गत असोज महिनादेखि तलब पाएका छैनन् । तलब नपाए पनि चिकित्सकहरुले बिना पारिश्रमिक काम गरिरहेका छन् ।

कोभिड महामारीमा ज्यान जोखिममा राखी गरेको कामको लागि सरकारले जोखिम भत्ता दिने निर्णय गरे पनि अस्पतालमा कार्यरत चिकित्सकले भत्ता नपाएको गुनासो गरेका छन् । कामबापत निरन्तर पाउनु पर्ने तलब भत्ताको लागि बारम्बार ताकेता गर्दा पनि अस्पताल विकास समितिबाट मौखिक आश्वासन दिने कामबाहेक केही हुन नसकेको अस्पतालका डाक्टर सिन्जन पाण्डेले बताए । विगत लामो समयदेखि तलब भत्ताबिना काम गरिरहँदा सुनुवाई नभएकाले चिकित्सक हतोत्साही भएको उनले बताए ।

तलब भत्ता निकासाका लागि पहल गरिदिन माग गर्दै अस्पतालमा कार्यरत करार चिकित्सकले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । तलबभत्ता उपलब्ध नभएमा दैनिक कामकाज गर्न असमर्थ हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

“अस्पतालका प्रमुखलाई माघ १६ गते नै निवेदन दिइसकेका छौँ, एक हप्ताको समय बितिसक्दा पनि केही उपलब्धी नहुँदा हामी अस्पतालका चिकित्सक माघ २३ गते आइतबारदेखि दैनिक कामकाजबाट पछि हट्न बाध्य भएका छौँ,” ज्ञापनपत्रमा भनिएको छ, “यसबाट सेवाग्राहीलाई हुन जाने असहजताका लागि क्षमाप्रार्थी छौँ ।”

दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले अस्पतालमा कार्यरत चिकित्सकलाई तलबभत्ता प्रदान गर्न पहल भइरहेको बताए । “बजेट निकासा नभएका कारण यो समस्या आएको हो, यसबारेमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराइसकेका छौ,” उनले भने ।

उनले अस्पतालमा कार्यरत दुई जना विशेषज्ञ डाक्टरको तलब अर्थ मन्त्रालयले निकासा गरे पनि करारमा कार्यरत चिकित्सकको हकमा भने बजेट निकासा नगरिदिँदा समस्या भएको जानकारी दिए ।

प्रतिक्रिया