बुधबार, पुष १६, २०८२

देव गुरुङ भन्छन्– स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन आवश्यक

मेरोन्यूज २०७८ माघ २५ गते १७:२५
CPN Maoist Centre Headquarters member Dev Gurung speaks with journalists in Kathmandu, on Wednesday, May 25, 2016. Photo: Reporters’ Club

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता देव गुरुङले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेता गुरुङले कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था भएकाले बैशाख ३० गते निर्वाचन गर्दा पनि कानूनी जटिलता हुनसक्ने बताए ।

सम्भव भएमा वर्तमान ऐन संशोधन गर्नुपर्ने र संसद अवरोधका कारण ऐन संशोधन सम्भव नभएमा संविधानको व्यवस्था अनुसार कार्यअवधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गरे ।

ऐन र संविधान बाझिएको अवस्थामा मुल कानून भएको हिसाबले संविधानको व्यवस्था अनुरुप नै निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए ।

नेता गुरुङले राष्ट्रियता र संविधानको रक्षाको निम्ति वर्तमान सत्ता गठबन्धन बनेको उल्लेख गर्दै सो मुद्दाहरु यथावत् रहेकाले स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम राख्नुपर्ने बताए ।

यद्यपी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा भने सल्लाह गर्न बाँकी नै रहेको उनले स्पष्ट गरे ।

नेता गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने समेत बताए । उनले सो परियोजना संशोधनसहित राष्ट्रिय सहमतीमा मात्र अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । संशोधन नभएसम्म संसदमा पनि टेबुल नहुने उनको भनाइ छ ।

एमसीसीको विषयमा वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमती गरेर जानुपर्ने उनले उल्लेख गरे । प्रधानमन्त्रीले गठबन्धनको सहमती बिना एमसीसी परियोजना अगाडि बढाएमा गठबन्धन स्वत्ः समाप्त हुने उनको भनाइ छ ।

प्रतिक्रिया