स्थानीय तह निर्वाचन नमूना बनाऔँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्डसहित चारवटै सार्वजनिक सञ्चारमाध्यम र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रमुखसँग शुक्रवार आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनबारे छलफल गरेको हो । स्थानीय तह निर्वाचनलाई प्रभावकारी तुल्याउन सार्वजनिक सञ्चार माध्यममार्फत गरिने क्रियाकलापलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर छलफल गरिएको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई प्रभावकारीरूपमा सञ्चालन गर्न, निर्वाचन प्रति आम मतदातालाई आश्वस्त तुल्याउन, उत्प्रेरित गर्न, सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताए । उनले भने, “आयोगले यो काम आफैँले गर्न सक्दैन, निर्वाचनमा तपाईँहरूबाट सबै सहयोग हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।”
निर्वाचनसम्बन्धी सूचना, समाचार र विचारलाई अहिले भइरहेको नियमित प्रणालीबाट प्रयोग बढाउन, वार्षिक बजेट र कार्यक्रमबाटै निर्वाचनमुखी कार्यक्रम गर्न सुझाव दिँदै आयोगले निर्वाचनलाई लक्षित गरी मतदाता प्रोत्साहन हुने र निर्वाचनको वातावरण बनाउने कार्यक्रम गर्न आवश्यक पर्ने वित्तीय पक्षबारे जानकारी माग गरेको छ ।
स्थानीय तहको निर्वाचन राजनीतिक दृष्टिकोणबाट सवल संयन्त्र निर्माण गर्ने अवसरका रूपमा रहेको छ । निर्वाचनका लागि आयोग बजेट तर्जूमा गर्ने चरणमा काम गरिरहेको छ । कानून र स्थानीय तहको संरचना अनुसार स्थानीय तहमा प्रत्यक्ष निर्वाचित ३५ हजार २२१ प्रतिनिधि आगामी निर्वाचनबाट निर्वाचित भएर आउने छन् । स्थानीय तहको सभाका लागि थप चार हजार ९६८ जनप्रतिनिधिको पनि चयन हुनेछ ।
सार्वजनिक सञ्चार माध्यमका क्रियाकलापलाई निर्वाचनमुखी र केन्द्रित तुल्याउन सुझाव दिँदै आयोगले मुलुकमा स्थापना हुने करिब १२ हजार मतदान स्थलमा प्रविधिका माध्यमबाट दस्तावेजीकरण गर्न सकिने व्यवस्था मिलाउन दूरसञ्चार प्रदायक निकायलाई निर्देशन दिइयो । सामाजिक सञ्जालको बढ्दो प्रयोगको व्यवस्थापन र उपयोग गर्ने सन्दर्भमा आयोगले सहकार्य गर्ने सो अवसरमा जानकारी दिइयो ।
आयोगले गलत, भ्रामक र मिथ्या समाचारको प्रयोग रोक्न निर्वाचनमा सामाजिक सञ्जालको उपयोगको विषय अत्यन्त गम्भीररूपमा लिएर व्यवस्थापनका लागि नीतिको खाका तयार गरेको छ ।
सबै सञ्चार माध्यम कम्प्युटर खोल्नासाथ निर्वाचनसम्बन्धी सन्देश र सूचना आउने व्यवस्था मिलाउन तथा देश विदेशमा निर्वाचनसम्बन्धी भइरहेका प्रचारप्रसारका गतिविधि अध्ययन गरी आ–आफ्ना सञ्चार माध्यमबाट निर्वाचनको वातावरणको तरङ्ग ल्याउन सुझाव दिइयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “आयोगलाई आसन्न निर्वाचन अझै प्रभावकाकारीरूपमा सम्पन्न गर्न तथा सूचना र सञ्चारमा स्थानीय तहको निर्वाचन आगामी दिनमा अरु निर्वाचनका लागि साँच्चै नमूना बनाउन सकियोस् ।”
यसअघि छलफलमा सार्वजनिक सञ्चार माध्यमलगायत संस्थानका प्रमुखले आ–आफना संस्थाबाट प्रदान गरिँदै आएका विविध सेवा र साधनस्रोतबारे जानकारी दिँदै राष्ट्रकै प्राथमिकतामा रहेको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन कर्तव्य र दायित्वलाई हरसम्भव पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया