आफ्ना सांसदलाई एमालेले किन ६ वटा पत्रमा हस्ताक्षर गरायो ?

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक राखेर आफ्ना सबै सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । प्रायः सांसदहरूको हस्ताक्षर गोप्य रुपमा संकलन गर्ने परम्परा भए पनि एमालले सत्ता गठबन्धन र अन्य कुनै न कुनै तहमा संविधानले दिएको अधिकार प्रयोग गर्ने गरी खुला हस्ताक्षर संकलन गरेको हो ।
आवश्यक परे जुनसुकै बेला सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउन सांसदको हस्ताक्षर संकलन गरेको जनाए पनि एमालेले ६ वटा पानामा हस्ताक्षर गराएको छ । एमालेले जुन विषयका लागि हस्ताक्षर संकलन गरेको भने पनि उक्त आवश्यकभन्दा दुई वटा बढी पत्रमा हस्ताक्षर संकलन गराएको हो । तर, हस्ताक्षर के प्रयोजनका लागि आवश्यक पर्यो भन्नेबारेमा सांसदलाई जानकारी छैन ।
‘संसदीय दलको बैठकमै ६ पेजमा हस्ताक्षर गर्नुका पछाडि कुन प्रयोजन हो भन्नेबारे थाहा छैन, तर हामीले हस्ताक्षर गर्यौँ,’ एमालेका एक सांसदले भने । सांसदले सर्वोच्चका वरिष्ठतम चार न्यायाधीशलाई महाभियोग लगाउने वा नलगाउने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलले आइतबार दर्ता गराएको महाभियोग प्रस्तावका विषयमा छलफल गर्न सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदले नेतृत्वलाई यस्तो जिम्मेवारी दिए । नेतृत्वले सोमबार साँझ र मंगलबार बिहान यो विषयमा छलफल गरेको थियो । यद्यपि, केही बताइएको छैन ।
एमाले सांसदले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायधीशहरू दीपक कार्की, मिरा खड्का, डा. आनन्दमोहन भट्टराई, ईश्वर खतिवडालाई महाभियोग जान सक्ने आंकलन गरेका छन् । तर, उनीहरू अरु दुई जनाको विषयमा कुनै आंकलन गरेका छैनन् । केही सांसदहरुले उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नी सापकोटाप्रति आशंका गरेका छन् । तर, पुन र सापकोटालाई महाभियोग लगाउँदा संसदबाट पास नभएसम्म उनीहरुको पद निलम्बन हुने अवस्था हुँदैन ।
एमालेको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई हटाउने प्रपञ्च गरिएमा एमालेको ध्यान उपराष्ट्रपति वा सभामुखतिर आकर्षित हुने बताइएको छ । यद्यपि, यो विषयमा एमालेभित्र गहिरो छलफल हुन बाँकी रहेको छ । ‘हामीले सोमबार ६ ठाउँमा हस्ताक्षर गरेका छौँ, जहाँ–जहाँ उपयुक्त हुन्छ, त्यहाँ–त्यहाँ प्रयोग गर्ने नेतृत्वलाई अधिकार दिएका छौं,’ एक सांसदले भने ।
दलको बैठकले आवेशभन्दा सोच विचार गरेर अघि बढ्नु पर्ने भन्दै त्यसबारे निर्णय गर्ने सबै अधिकार शीर्ष नेतृत्वलाई दिएको हो । संवैधानिक आयोगका पदाधिकारी नियुक्तिबारे सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च अदालत सकारात्मक देखिएन भने चार जनामाथि महाभियोग जाने खतरा रहेको स्रोतले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक आयोगमा एमालेको सरकारले नियुक्ति गरेका व्यक्तिहरू भएकाले सर्वोच्च अदालतले ती नियुक्तिमा प्रश्न उठाउन सक्ने शंका एमालेले गरेको छ । साथै राष्ट्रिय सभाका अध्यक्ष हटाउन एक सिट कम भएको र त्यो एक सिटसमेत व्यवस्थापन गर्न सक्ने भएकाले सत्ता गठबन्धनको ध्यान त्यता पनि जानसक्ने भएपछि एमालेले ६ वटा कागजमा हस्ताक्षर गरेर राखेको स्रोतको दावी छ ।
‘सर्वोच्च अदालतका चार न्यायधीशबाहेक, उपराष्ट्रपति र सभामुखलाई महाभियोग लगाउने र पास नभए पनि उनीहरुलाई बद्नाम गर्ने गरी अघि बढ्न खोजेको देखिन्छ’, स्रोतले भन्यो । सत्ता गठबन्धनसँग दुई तिहाई नभएकाले राष्ट्रपति विद्या भण्डारीलाई महाभियोग लगाउन नसकेको दृष्टान्त रहेको बेला संसदमा सबैभन्दा ठूलो दल एमालेले महाभियोग लगाए पास हुनेभन्दा बद्नाम हुने छ ।
सत्ता गठबन्धनमा आवद्ध दलका सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता गरेपछि एमालेले ‘काउन्टर’मा सर्वोच्चका चार न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्ने चर्चा चलेको थियो । एमाले सचिवालयको आइतबार साँझ बसेको बैठकले प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाभियोगको सशक्त कानुनी प्रतिवाद गर्ने निर्णय गरेको थियो । तर, सोमबार बसेको संसदीय दलको बैठकले वस्तु स्थितिको ठोस विश्लेषण, कानुन र संविधानको अध्ययन गरेर मात्रै निर्णय गर्नु पर्ने निष्कर्ष निकालेर हस्ताक्षरको हतियार तयारी अवस्थामा राखेको छ ।
संसदीय दलको बैठकमा सांसद भीम रावल, घनश्याम भुसाल, गोकुल बाँस्कोटा, महेश बस्नेत, झपट रावललगायतले आफ्नो धारणा राखेका थिए । रावल र भुसालले प्रधानन्यायाधीश जबरा र एमसीसी दुवैलाई बोकेर जाँदा एमालेलाई आगामी निर्वाचनमा घाटा हुने बताएका थिए । त्यसैगरी विषयवस्तु स्पष्ट नभएकाले रावल, भूषाल, दीपक भट्ट, पवित्र निरौलाले हस्ताक्षर भने गरेका छैनन् । सत्ता गठबन्धनप्रति निकै आक्रामक शैलीमा प्रस्तुत भएका ओलीले हस्ताक्षरको हतियार देखाएर तर्साउन खोजेका हुन् कि साच्चै महाभियोगको बाटोमा अघि बढ्न भन्नेबारेमा केही खुलेको छैन ।
‘प्रधानन्यायाधीशविरुद्ध महाभियोग स्थानीय तहको निर्वाचनलाई सार्ने वा टार्ने, एमसीसी जसरी पनि पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने ढंगले आएको छ,’ ओलीले संसदीय दलको बैठकमा भने, ‘यसलाई हामी सही ठाउँमा प्रयोग गर्छौँ उपयुक्त निर्णय लिन्छौँ ।’












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया