एमसीसीमा सत्ताका पाँच दल पाँचतिर, कसको स्वार्थ के ?

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदनका लागि अमेरिकाले पछिल्लोपटक दिएको समय सीमा अब ११ दिन बाँकी रहँदा यसको भविष्य के हुने ? अझै अन्यौल छ । विशेषगरी सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर लागेपछि एमसीसी संसदमा टेबल हुन सकेको छैन । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा निकै दबाबमा छन् ।
आगामी १६ फागुनभित्र संसदबाट एमसीसी पारित नभए अन्तर्राष्ट्रिय स्तरमा देशको छवी बिग्रन सक्ने, दातृ निकायबाट प्राप्त हुँदै आएको अनुदान तथा ऋणमा नेपाललाई हेर्ने नीति फेरिन सक्ने भन्दै देउवा दबाबमा परेका हुन् । तर, सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी हालको अवस्थामा एमसीसी पारित गर्नै नहुने पक्षमा छ । जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्ष नै दुईतिर छन् । राष्ट्रिय जनमोर्चा त सडक आन्दोलनमा छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी सरकारको थियो । तर, अन्तिम समयमा आएर टर्यो, माओवादी केन्द्रको अनुरोधका कारण । एमसीसीमा छिनोफानो गर्न आज दिउँसो ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल हुँदै छ ।
कसको पोजिस के ?
नेपाली कांग्रेस : सत्तासीन नेपाली कांग्रेस एमसीसीमा स्पष्ट छ । यसअघि प्रतिपक्षमा छँदा पनि एमसीसीको पक्षमा रहेको कांग्रेसले यसअघिको प्रतिबद्धता अनुसार सम्झौता पारित गर्नु पर्ने अडान लिँदै आएको छ ।
हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पनि एमसीसी संसदमा टेबल गर्नु पर्ने निर्णय गरिसकेको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए । उनले कांग्रेस यो सम्झौताबाट ब्याक नहुने र आफूसँग अन्य विकल्प पनि रहेको बताइसकेका छन् ।
एमसीसी अस्वीकार गरेमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत दातृ निकायबाट प्राप्त हुने ऋण अनुदान कटौती हुन सक्ने कांग्रेस नेताहरूको ठम्याई छ । कांग्रेस नेताहरु पनि एमसीसीलाई चुनावी परीणामसँग हेर्न नहुने बताउँदै आएका छन् ।
माओवादी केन्द्र : माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले चौतर्फी घेराबन्दीमा परेको बताउन थालेका छन् । माओवादीभित्र देव गुरुङ, नारायणकाजी श्रेष्ठ पक्षधरहरू एमसीसीको तीव्र विरोधमा छन् ।
अर्को धार पनि त्यति आक्रामक छैन । तर, अहिलेको अवस्थामा एमसीसीको पक्षमा लागे आगामी निर्वाचनमा असर गर्ने माओवादी केन्द्रका नेताहरूको बुझाई छ । त्यही भएर चुनावपछि मात्र एमसीसीबारे निर्णय लिइनुपर्ने मत माओवादीमा छ ।
प्रचण्डले मंगलबार प्रधानमन्त्री देउवासँगको छलफलमा अहिले मोरल्ली एमसीसीको पक्षमा आफ्नो पार्टी उभिन नसक्ने र नैतिकताका आधारमा सरकारबाट बाहिरिने बताएका थिए । तर, देउवाले भने बरु विपक्षमा मतदान गर्न तर सरकारबाट नबाहिरिन भनेका थिए ।
अघिल्ला सभामुख कृष्णबहादुर महराले पनि एमसीसी अगाडि बढाउन साथ दिएका थिएनन् । हालका सभामुख अग्नि सापकोटा पनि राष्ट्रिय सहमति चाहिने बताइरहेका छन् । सभामुखको आलोचना प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले गर्ने गरेका छन् । सरकारले अगाडि बढाएका बिजनेस सभामुखले रोक्न नमिल्ने उनी सार्वजनिक कार्यक्रममै बताउँदै आएका छन् ।
माओवादी केन्द्रका जनवर्गीय संगठनले त मंगलबार एमसीसीविरुद्ध आन्दोलन नै गरे । नेता नारायणकाजी श्रेष्ठ आफै सडकमा उत्रिएका थिए ।
एकीकृत समाजवादी : नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा संशोधनबिना एमसीसी पारित नै नहुने बताउँछन् ।
एमसीसीको सवालमा माओवादी केन्द्र र एकीकृत समाजवादीका लाइन मिल्न जान्छ । एकीकृत समाजवादीका जनवर्गीय संगठन पनि मंगलबार प्रदर्शनमा उत्रिएका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले एमसीसी अगाडि बढाउन खोज्दा पार्टीभित्र (नेकपा)बाटै विरोध भएको थियो । उक्त विरोधपछि पूर्वप्रधानमन्त्री झलाना खनालको नेतृत्वमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता भीम रावल सम्मिलित कार्यदल गठन गरेको थियो । जसमध्ये ज्ञवालीबाहेक अरु नेता एमसीसीको विपक्षमा छन् । रावल एमालेमा रहे पनि खनाल एकीकृत समाजवादीका वरिष्ठ नेता हुन् ।
जसपा : ‘पर्ख र हेरको नीति’ लिएको जसपामा दुई लाइन छ । अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्र र एकीकृत समाजावादीको निर्णय कुरिरहेका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई एमसीसी पारित गर्नु पर्ने पक्षमा छन् । भट्टराईले मंगलबार ट्वीट गर्दै एमसीसीका पक्षधर र विरोधी एउटै सरकार गठबन्धनमा बस्न नहुने बताइसकेका छन् ।
तर, अध्यक्ष यादव अहिले एमसीसीको पक्षमा उभिए निर्वाचनमा असर गर्न सक्ने भन्दै गठबन्धनका दलबाट पारित हुने निश्चित भएपछि मात्र निर्णय लिने पक्षमा छन् । सभामुख सापकोटाले मंगलबार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमाले मात्र होइन, जसपा पनि अनुपस्थित थियो । यादव जनकपुरमा छन् ।
जनमोर्चा : गठबन्धनमा रहे पनि सत्तामा नरहेको राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विपक्षमा छ । अध्यक्ष चित्रबहादुर केसी एमसीसी राष्ट्रघाती रहेको बताउँदै आएका छन् । एमसीसीको विरोधमा मंगलबार कम्युनिस्ट पार्टीहरूले गरेको नेपाल बन्दमा जनमोर्चा पनि सहभागी थियो ।
एमसीसी हुन्छ : वरिष्ठ नेता पौडेल
कांग्रेस नेता रामचन्द्र पौडेलले एमसीसी सम्झौतामा कम्युनिष्ट दलहरूको सहभागिता रहेकाले धोका दिन नपाइने बताएका छन् । पौडेलले भने ‘माओवादीले एमसीसी सदनमा टेबल गर्न नदिए पनि भोलि पर्सी त आखिर टेबुल गर्नु छँदै छ, यो जसरी पनि टेबल भएर छोड्छ ।’ एमसीसी सम्झौता जसरी पनि अनुमोदन हुने पौडेलले विश्वास व्यक्त गरे ।
कांग्रेस नेता मीनेन्द्र रिजालले कांग्रेस धेरै उग्रबाम पन्थीजस्तो देखिन नमिल्ने बताए । उनले भने, ‘म धेरै व्याख्या नगरी भन्छु, कांग्रेसले जीवनभर राजनीति गर्यो, यही राजनीतिको निरन्तरतामा एमसीसीको परिणाम आउने हो । कांग्रेसले आर्दशको राजनीति गर्दा सत्ता रहला नरहला तर आफ्नो राजनीतिमा रहनुपर्छ ।’
सहमहामन्त्री डिना उपाध्यायले पनि एमसीसी जसरी पनि सदनबाट टेबुल हुने ठोकुवा गरिन् । उनले भनिन्, ‘गठबन्धनमा आबद्ध दलले गठबन्धन तोडेर जान्छन् भने जाउन् तर कांग्रेस एक्लैले भए पनि एमसीसी सदनमा टेबल गर्छ ।’
राजनीतिक विश्लेषक लोकराज बराललले एमसीसीबारे कांग्रेसले छिट्टै निर्णय लिनु पर्ने बेला आएको बताए । उनले भने ‘एमसीसी अनुमोदनतर्फ लाग्दा सरकार ढल्छ कि, राजनीतिक स्वार्थको लागि जोडिएको गठबन्धन टुट्छ कि भनेर कांग्रेस डराउनु हुँदैन ।’ अब हुने गठबन्धन तथा शीर्ष नेताको छलफले पनि केही निष्कर्ष निकाल्न नसक्ने उनको भनाई छ ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया