शुक्रबार, वैशाख २५, २०८३

गठबन्धन टुटाउन कांग्रेस नेतृत्वलाई दबाब

मेरोन्यूज २०७८ फागुन ६ गते १९:०३

काठमाडौं । पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका पार्टी सभापति शेरबहादुर देउवालाई गठबन्धन टुटाउन पार्टीभित्रैबाट दबाब बढेको छ ।

गठबन्धनमा रहेका दलहरु मुख्यतः दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसीविरुद्ध सडक आन्दोलन थालेपछि प्रधानमन्त्री देउवालाई गठबन्धन टुटाउन पार्टीभित्रैबाट दबाब बढेको हो ।

अमेरिकाले यहि फेब्रुअरी २८ भित्र संसदबाट एमसीसी अनुमोदन गराउन दबाब दिइरहेकाबेला गठबन्धन दलहरुले नै प्रस्ताव टेबल गर्नसमेत नदिएको भन्दै गठबन्धन टुटाउन आन्तरिक दबाब दिएका छन् ।

शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै सरकारको नेतृत्वकर्ता दल कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले सत्तारुढ राजनीतिक दलहरुकाबीचमा मतैक्य नभए गठबन्धन अघि नबढ्ने बताए । ‘कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने कुरा हुँदैन ।’– उनले भने ।

नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबुल गरी आ–आफ्नो मत प्रकट गर्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुहरुबीच एमसीसीमा सहमति जुटाउन नसकेपछि पछिल्लो समय कांग्रेस महामन्त्री थापालाई अघि सारेका छन् । पाँचदलीय सत्ता गठबन्धनको बिहीबारको बैठकमा पनि थापा सहभागी थिए । बालुवाटार बैठकमा थापाले एमसीसीमा निर्णायक बन्न माओवादी केन्द्रलाई सुझाव पनि दिए ।

गठबन्धन टुटाएरै भए पनि एमसीसी पास गर्न कस्सिएका देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ समिकरणको प्रस्तावसमेत अघि बढाएका छन् ।

यद्यपि माधव नेपाल नेतृत्वको पार्टीलाई मान्यता दिएर आफूले कारबाही गरेका सांसदलाई संसद प्रवेश गराएको भन्दै एमालेले संसदको नवौं अधिवेशनदेखि नै संसद अवरोध गर्दै आएको छ ।

Advertisement
NiccNicc

प्रतिक्रिया