मंगलबार, माघ ६, २०८२

फुकेन एमसीसीको गाँठो

प्रधानमन्त्रीले गरे प्रचण्डको प्रस्ताव अस्वीकार

संसदीय प्रक्रिया तत्कालका लागि रोकौं : प्रचण्ड, भोट हाल्नुस, अव रोकिदैन : प्रधानमन्त्री

मेरोन्यूज २०७८ फागुन १२ गते १३:०६

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीले सत्तागठबन्धन दलमा उल्झन ल्याईरहेका बेला प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का वीचमा भेटवार्ता भएको छ । दिउँसो संसदमा एमसीसी माथीको संसदीय प्रक्रिया आरम्भ हुने भएपछि प्रधानमन्त्रीले प्रचण्डलाई भेटनका लागि बालुवाटार बोलाएका थिए ।

सत्तागठबन्धनका वीचमा अनुमोदन गराउने साझा धारणा बनाएर एमसीसी पनि पारित हुने र गठबन्धन पनि आउने चुनावसम्मै कायम गर्ने बाटोवाट जानका लागि प्रधानमन्त्रीले प्रचण्डसग छलफल गरेका थिए । प्रचण्ड सिंहदरवारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरी प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका थिए ।

तर दुवै नेता पहिलेकै अडानमा कायम रहेका कारण एमसीसीमा परेको सत्तागठबन्धनभित्रको गाँठो अझै नफुकेको हो ।
त्यसपछि छलफल धेरै लामो समय नचलेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रचण्डले एमसीसीको आज देखि संसदमा शुरु हुन लागेको संसदीय प्रक्रिया तत्कालका लागि रोक्न प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए । संसदमा एमसीसी टेबल भएकै छ, अहिले तत्कालका लागि संसदीय अन्य प्रक्रिया रोकौं, चुनावपछि छलफल गरौला, अहिले सत्तागठबन्धन जोगाएरै जाऔं, प्रचण्डले प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका थिए ।

तर प्रचण्डको त्यस्तो प्रस्ताव प्रधानमन्त्रीले अश्वीकार गरेको प्रधानमन्त्रीको सचिवालयले बतायो ।

प्रधानमन्त्री देउवाले भने अव आफु धेरै अगाडी वढेको र गठबन्धन जोगाउनकै लागि भएपनि एमसीसीको पक्षमा भोट हाल्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले अनुमोदन प्रक्रिया अव संसदमा अगाडी वढ्छ बरु भोट हाल्नुस अन्यत्रका कुरा नगर्नुस भनेर प्रचण्डलाई भन्नुभयो, प्रधानमन्त्रीको सचिवालयले बतायो ।

तर प्रधानमन्त्रीको त्यस्तो प्रस्तावमा पनि प्रचण्डले मान्य नभएको बताएका थिए । संसदीय प्रक्रिया अगाडी बढे आफुहरु विपक्षमा उभिने प्रचण्डले फेरि पनि प्रधानमन्त्रीलाई अवगत गराएका थिए

प्रतिक्रिया