शनिबार, वैशाख २६, २०८३

एमसीसीबारे जसपाको धारणा भोलि आउने, नेताहरुलाई एमसीसी पुस्तिका बाँडियो

मेरोन्यूज २०७८ फागुन १३ गते २०:४८

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीबारेमा जनता समाजवादी पार्टी (जसपा) ले शनिवार पार्टीको आधिकारिक धारणा बनाउने भएको छ ।
लामो समयपछि बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठक लम्बिएपछि एमसीसीबारेमा शनिवार मात्रै धारणा बनाइने भएको हो ।
स्थानीय निर्वाचन, एमसीसी प्रस्ताव र देशको समसामयिक विषयमा छलफल गर्न भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी बैठक बोलाएका हुन् ।
शुक्रबारको बैठकमा नेताहरूलाई एमसीसी सम्झौता र त्यससम्बन्धी जानकारीमूलक पुस्तिकासमेत वितरण गरिएको छ । जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसी सम्झौता हुबहु पास गर्नुपर्ने अभिब्यक्ति दिँदै आएका छन् । पार्टीमा भने यसको अध्ययन गरेर मात्रै निर्णय गर्ने भन्दै पुस्तक बाँडिएपछि सम्झौताबारेमा वृहत्त छलफल हुने भएको छ ।
शनिबारको बैठकमा एमसीसीको विषयमा अध्ययन गरेर कार्यकारिणी सदस्यहरुले आ–आफ्नो धारणा राख्ने र पार्टीले आधिकारिक धारणा बनाउने सो पार्टीले जनाएको छ ।
भट्टराईले एमसीसी संसदबाट पारित गर्न नहुने भन्दै अन्य दलहरुलाई दबाब दिँदै आएका छन् भने एमसीसीलाई साथ नदिने पार्टीले सरकार छाड्नुपर्ने समेत बताउँदै आएका छन् ।
भट्टराईले एमसीसीका पक्षमा वकालत गर्दै आए पनि पार्टी अध्यक्ष यादव भने यस विषयमा मौन छन् । पार्टीको आधिकारिक निर्णयपछि मात्रै बोल्ने उनले बताएका छन् ।
अध्यक्ष यादवले बैठकमा तीन वटा एजेण्डा पेश गरे पनि ८ एजेण्डा थप गरी ११ वटा एजेन्डा प्रस्तुत गरिएको छ ।
बैठकमा एमसीसी, पार्टीको विधान अधिवेशन, संघीय परिषद् र केन्द्रीय समितिको बैठक, नेतृत्व प्रणालीबारे र मन्त्रीहरूको कार्यसमीक्षा, संगठनात्मक कार्यसमीक्षा र समायोजन, केन्द्रीय कार्यकारिणीमा पदपूर्ति, केन्द्रीय कार्यकारिणीको कार्य विभाजन, सुज अभियानको समीक्षा लगायतका एजेन्डाका विषयमा छलफल हुनेछ ।
जसपामा नेतृत्वको विषयलाई लिएर यादव र भट्टराईबीच विवाद बढ्दै गएको छ । भट्टराईको यसअघिको नयाँ शक्ति पार्टीको चुनाव चिन्ह राखेर निर्वाचन आयोगमा नयाँ पाटर्टी समेत दर्ता भएको छ ।

Advertisement
NiccNicc

प्रतिक्रिया