झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

काठमाडौँ । धौलागिरि गाउँपालिका ४ नाउराको कोपिलाघाटस्थित म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोट्टिएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नु पर्ने समस्या हटेको हो ।
नाउराका बासिन्दा रिम रोकाले चार घण्टा घुमाउरो बाटोको यात्रा गर्नु पर्नेमा पुल बनेपछि एक घण्टामै पुग्न सकिने बताए । ‘नाउरा–चेचुङ आवतजावत गर्न खिवाङ हुँदै चार घण्टा हिँड्नु पर्दथ्यो,’ उनले भने, ‘पुल बनेपछि एक घण्टामै पुग्न सकिन्छ । जङ्गल, भिर र खोल्साको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।’
धौलागिरि गाउँपालिकाले नाउराको कोपिलाघाटमा ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । करिब ४१ लाख रुपैयाँको लागतमा निर्माण भएको कोपिलाघाटको झोलुङ्गे पुलबाट नाउरा र चेचुङका ३९ घरधुरी लाभान्वित भएका गाउँपालिकाका प्राविधिक दिलीप थापाले बताए । धौलागिरि गाउँपालिकाले गत वर्ष सुरु गरेको सात वटामध्ये हालसम्म तीन वटा निर्माण सकिएका छन् ।
यसअघि वडा नम्बर ६ मराङको अस्कारे खोलामा ३० लाख ५० हजार रुपैयाँको लागतमा ३५ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको थियो । सो पुलबाट मल्कवाङ, मराङ, आरबाङ, हाङबाङ, औसीबाङ, भेडिखाल्टा र रघुगङ्गाको कुइनेका सात सय घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष जित गर्बुजाले बताए ।
यसैगरी धौलागिरि गाउँपालिका २ को आवासखोलामा ३२ लाख ४१ हजारको लागतमा निर्माण भएको ३२ मिटर ट्रस पुलबाट खोरियाका सय घरधुरी लाभान्वित भएका छन् । पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर आवतजावत गर्नु पर्ने बाध्यता हटेको छ । पुल निर्माणका लागि टिबिएसयुको स्वाप कार्यक्रमले लठ्ठा र बुल्डअपग्रिप उपलब्ध गराएको थियो । गाउँपालिकाले स्टिल डेग खरिद र ढुवानी गरेको हो ।














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
प्रतिक्रिया