झापाका ग्यास र पेट्रोल पम्पमा अनुगमन

काठमाडौँ । झापाका ग्यास उद्योग, पेट्रोल पम्प र किराना पसलमा सरकारी टोलीले गुणस्तरसम्बन्धी अनुगमन तीव्र बनाएको छ । झापा जिल्ला संयुक्त बजार अनुगमन समितिले केही दिनयता दैनिक बजार अनुगमन गरिरहेको छ ।
बिहीबार र शुक्रबार जिल्लाका तीन ग्यास उद्योग र पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक रुद्रप्रसाद न्यौपानेले बताए । ‘बजारमा बेथिति नबढोस् र व्यवसायीसमेत सचेत हुन् भन्ने सोचेर अनुगमन कार्यलाई अभियानकै रुपमा बढाएका छौँ,’ अनुगमन समितिका संयोजक न्यौपानेले भने, ‘कहिलेकाहीँ मात्र अनुगमन हुने गरेको भनेर कुरा उठ्ने गरेको छ, तर हामी बजारमा उपभोक्ताको हितका लागि वस्तु तथा सेवाको गुणस्तर कायम राख्न निरन्तर अनुगमन गरिरहेका छौँ ।’
अनुगमन टोलीले भद्रपुर ६ मा रहेको पराजुली एन्ड ब्रदर्श ग्यास उद्योग, मेचीनगर १४ को मेची ग्यास उद्योग र विर्तामोड २ मा रहेको पाथीभरा ग्यास उद्योगको अनुमगन गरेको थियो । ती उद्योगले उत्पादन गरी सिलप्याक गरेका सिलिन्डरमा तोकिएको मात्रामा तौल भएको वा नभएको बारेमा टोलीले प्राविधिक परीक्षण गरेको थियो । सिलिन्डरको सिलबन्दीको गुणस्तर, नापतौल, राजस्व बुझाएको कागजपत्र, स्टकलगायतको बारेमा टोलीले अनुगमन गरेको थियो ।
झापाका ग्यास उद्योगले उत्पादन गरेका सिलिन्डरको नापतौल र कागजपत्र ठिक अवस्थामा पाइएको अनुगमन टोलीले जनाएको छ । यसैगरी टोलीले मेचीनगरको पूर्वाञ्चल सप्लायर्स, प्रनिक आयल स्टोर्स, नेम्वाड पेट्रोल पम्प, नन्दा पेट्रोल पम्प, मेट्रो पेट्रोल पम्प र भद्रपुरको सन्तोष ट्रेडिड गरी छ पेट्रोल पम्पमा अनुगमन गरेको थियो ।
अनुगमनमा आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, नेपाल आयल निगम, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
‘पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको घनत्व, मूल्य, नापतौल, कागज पत्रलगायतका विषय परीक्षण गर्दा ठीकै पाइयो,’ घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख जय अधिकारीले भने, ‘तर, केही पम्पमा सरसफाइको अवस्था सुधार गर्न निर्देशन दिएका छौँ ।’ टोलीले ग्यास उद्योग र पेट्रोल पम्पमा अग्नि नियन्त्रण तथा सुरक्षाको अवस्थाका बारेमा समेत अनुगमन गरेको थियो । ती ठाउँमा अग्निसमन सिलिन्डर राखेको पाइएको थियो ।
अनुगमन टोलीले खाद्य पसलमा अनुगमन गर्दा मेचीनगरका तीन वटा किराना पसललाई जरिवाना गरेको छ । मेचीनगर ६ को गाउँले मासु पसल, देव खुश्वु किराना पसल र मेची मिष्ठान्न भण्डारमा नापतौलका गुणस्तर कायम नभएका कम्प्युटर काटा उपकरण जफत गरिएको अधिकारीले बताए । बजारमा म्याद गुज्रिएका सामान नबेचिउन र गुणस्तरमा लापरबाही गर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गर्न जिल्लाका सबै पालिकामा बजार अनुगमन निरन्तर रुपमा गरिने अनुगमन समितिका संयोजक न्यौपानेले बताए ।
उनले अनुगमनको क्रममा व्यवसायीलाई उपभोग्य वस्तुको लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, नापतौल, पसल सञ्चालनको अनुमतिपत्र, नवीकरण पत्र अद्यावधिक गर्न निर्देशन दिने गरे । अनुगमनका क्रममा म्याद सकिएका सामग्री जफल गर्ने, नापतौलका उपकरण जफत गर्ने र पटक–पटक सचेत गराउँदासमेत अटेर गर्ने व्यवसायीलाई कारबाही गरिँदै आएको उनको भनाइ छ ।













ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
रातभरिमा सहमतिको बिन्दुमा पुग्छौँ : श्याम घिमिरे
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया