शुक्रबार, माघ २, २०८२

जब देखियो सैनिकमञ्चमा बख्तरबन्द, आकाशमा हेलिकोप्टर (फोटोफिचर)

मेरोन्यूज २०७८ फागुन १७ गते १७:०१

काठमाडौं । सेना दिवस एवं महाशिवरात्रीको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ ।

कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कलासंस्कृति प्रस्तुत गरेको हो । हरेक वर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ । सेनाले विभिन्न सांस्कृतिक कार्यक्रम र साहसिक खेलहरु प्रस्तुत गरेको थियो ।

शिवरात्री एवं सेना दिवसको बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा लगायतका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सेनाका परमाधिपति राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरिन् । उनलाई सेनाको एक टुकुटीले सलामी अर्पण गरेको थियो ।

सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा देशभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइएको छ ।

सेना दिवसको अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । कार्यक्रममा नेपाली सेनाले राइफल र तोपबाट महाशिवरात्रिको बढाईंसमेत गरेको छ ।

त्यसैगरि, बढाईं कवाज अन्तर्गत नेपालको झण्डा, लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस २०७८ को आकृतिसमेत प्रस्तुत गरिएको थियो ।

त्यसैगरी नेपाली सेना र नेपालको परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिएको थियो ।

थप तस्विरहरुः

तस्विरहरुः न्युज कारखाना

प्रतिक्रिया