आइतबार, माघ ४, २०८२

रामकोट घटना : सामूहिक आत्महत्याको प्रयास किन ?

मेरोन्यूज २०७८ फागुन २४ गते १३:१६

काठमाडौँ । नागार्जुन नगरपालिका ६ रामकोटस्थित डाँडापौवामा डा. उद्धव पुरीको घरअगाडि कुकर भुकिरह्यो । कुकुर भुक्न थालेपछि स्थानीयहरुको ध्यान उतैतिरै मोडियो ।

शंकालु शैलीमा कुकुर भुकेको देखेर स्थानीयभित्र छिरे । र, कोठाको झ्यालबाट हेरे । कोठाभित्र घोप्टो परेको अवस्थामा पाँच जनालाई स्थानीयबासीले देखे ।

पटक–पटक बोलाउँदा पनि कोही हलचल नभएपछि स्थानीयले प्रहरीलाई खबर गरे । खबर गरेलगत्तै महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोली घटना स्थलमा पुग्यो । राति करिब साढे ९ बजे प्रहरी घटना स्थलमा पुग्दा उनीहरूले घरको चेनगेट लगाएको थियो ।

प्रहरी घरको चेनगेट खोलेर भित्र पस्यो । र, अनुसन्धान सुरु गर्यो । भित्र परिवारका पाँच जना घोप्टो परेका थिए । उनीहरूमध्ये एक जनाको मृत्यु भइसकेको र अन्य बेहोस भएको प्रहरीले निष्कर्श निकाल्यो ।

बेहोस भएका चार जनालाई प्रहरीले उपचारका लागि स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा पठायो । उनीहरुको अवस्था गम्भिर रहेकाले भ्यान्टिलेटरमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले मेरोन्युजलाई जानकारी दिए ।

उनले भने, ‘३३ वर्षीय सुवर्णमान प्रधानको गएराति नै मृत्यु भइसकेको छ, ६६ वर्षीया इन्दिरामाया, ३८ वर्षका भिम, ३५ वर्षीया मन्दिरा र ११ वर्षीया सुप्रेणाको अवस्था गम्भीर छ, उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ ।’

सामुहिक आत्महत्याको प्रयास किन ?

प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरुले सामुहिक रुपमा आत्महत्या गर्न खोजेको तथ्य फेला पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी मैनालीका अनुसार घटना स्थलमा सुसाइड नोट फेला परेको छ ।

‘हामी संयुक्त रुपमा बिदा हुँदै छौँ,’ लेखिएको सुसाइड नोट फेला परेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । उनले भने, ‘आत्महत्याको प्रयास गर्नुको कारण आर्थिक समस्या हुन सक्छ, तर यकिनका साथ भन्न सक्ने अवस्था छैन ।’
घटना स्थलबाट प्रहरीले विषको बट्टा र पानीको बोतलमा घोलेर बाँकी रहेको विषसमेत फेला पारेको छ ।

प्रतिक्रिया