शनिबार, माघ १०, २०८२

ओलीले नारायणहिटी र पशुपतिको धर्मशाला बिचौलियालाई बुझाए : प्रेम आले

मेरोन्यूज २०७८ चैत ५ गते १९:३४

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले स्थानीय तहको निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन्।

ओलीकै घमण्डले बामपन्थीको दुई तिहाई नजिकको संघीय सरकार ढलेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्डलाई नेपाली जनताले जवाफ दिने बताए। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबी गरे।

नेकपा एकीकृत समाजवादीका नेता रहेका मन्त्री आलेले ओलीमा महाभारतको दुर्योधनभन्दा बढी घमण्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए। ‘आज कोही व्यक्तिको अहंकारले गर्दा संघको सरकार गयो, प्रदेशको सरकार गयो, अझै त्यो व्यक्तिले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत पालिकामा जित्छु भन्ने जुन घमण्ड गरेको छ, त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुवैलाई दाज्यौ भने अहंकारमा कुनै कमी छैन,’ उनले भने, ‘तपाईहरू मूल्यांकन गर्नुहोस्, जनताले आगामी वैशाख ३० गते जवाफ दिनेवाला छन।’

त्यस अवसरमा मन्त्री आलेले मर्यादित पत्रकारिता गर्न सञ्चार माध्यामलाई आग्रह गरे।

प्रतिक्रिया