बुधबार, माघ १४, २०८२

गठबन्धन सबैले जित्ने खालको हुनुपर्छ : नेता श्रेष्ठ

मेरोन्यूज २०७९ वैशाख ३ गते २१:५४

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले गठबन्धन सबैले जित्ने खालको हुनु पर्नेमा जोड दिएका छन् ।

स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी नेकपा एकीकृत समाजवादी तनहुँले आज आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले गठबन्धन भनेको ‘विन–विन’ खालको हुनु पर्ने बताएका हुन् ।

गठबन्धन गर्दा एउटाले जितिरहने र अर्कोले हारिरहने हुन नहुने श्रेष्ठको भनाइ थियो । गठबन्धनका सबै दलको अस्तित्व स्वीकार गर्नु पर्नेमा उनले जोड दिए । “गठबन्धन कसैलाई जिताउनका लागि मात्र हुनु हुँदैन, सबैले जित्ने खालको हुनुपर्दछ, त्यसमा हामी प्रष्ट छौँ”, श्रेष्ठले भने ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी का केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज चित्र थापा, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विद्या ढकाल, जिल्ला अध्यक्ष शङ्करनारायण श्रेष्ठलगायतले स्थानीय तह निर्वाचनका सन्दर्भमा धारणा राखेका थिए ।

प्रतिक्रिया