बुधबार, माघ १४, २०८२

निर्वाचन कार्यालयद्वारा दलहरूसँग छलफल

मेरोन्यूज २०७९ वैशाख ४ गते १८:३३

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वतन्त्र, पारदर्शी एवं निष्पक्ष बनाउन प्रदेश निर्वाचन कार्यालय विराटनगरले जिल्लास्थित क्रियाशील राजनीतिक दलसँग छलफल गरेको छ ।

छलफलमा दलका प्रतिनिधिलाई निर्वाचन आचारसंहिता विषयमा कार्यालय प्रमुख लेवन कास्यप अधिकारीले विस्तृत रूपमा जानकारी गराएका थिए । मतदाता समेतलाई निर्वाचन आचारसंहिता लाग्ने भएकाले निर्वाचन सम्बन्धमा निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिता सबैले इमान्दारीपूर्वक पालना गर्न प्रमुख अधिकारीले आग्रह गरे ।

मोरङमा कूल स्थानीय तह १७ वटामा १५९ वडा रहेको, सबै स्थानीय पालिका गरी सात लाख १५ हजार २२३ मतदाता, भाग लिने राजनीतिक दल स्वतन्त्रबाहेक ३९, कूल मतदानस्थल ३०० र मतदान केन्द्र ८२० छन् । सबैभन्दा बढी विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ र सबैभन्दा कम मिक्लाजुङ गाउँपालिकामा २३ हजार ९९० मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले निर्वाचनमा कुनै पनि अनियमितता हुन नदिन जिल्ला प्रशासन कार्यालय सचेत रहेको भन्दै निर्वाचन आचारसंहिता पालना गर्न सबैले सहयोग गर्नु पर्नेमा जोड दिए ।

सहभागी दलका प्रतिनिधिहरुले आचारसंहिता पालना गर्ने र यसलाई ठूला दलबाटै भत्काउने काम हुने गरेको पाइएकाले यसतर्फ निर्वाचन आयोग र सुरक्षा निकायको ध्यान जानुपर्ने बताएका थिए ।

प्रतिक्रिया