बुधबार, फागुन २७, २०८२

जार र बोत्तलका पिउने पानीको मूल्य बढ्यो, कुन कति पुग्याे ?

मेरोन्यूज २०७९ जेठ १८ गते १९:४६

काठमाडौं । प्रशोधित पिउने पानी उत्पादकहरुले पानीको मूल्य वृद्धि गरेका छन् । बिहीबारबाट लागू हुनेगरी नेपाल बोत्तल वाटर इन्डष्ट्रिज एशोसिएसनले जार तथा बोत्तलको पिउने पानीको नयाँ मूल्य सार्वजनिक गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

अब, प्रशोधित पिउने पानीको एक लिटरको बोत्तलको फ्याक्ट्री मूल्य १६ रुपैयाँ कायम हुनेछ भने २० लिटरको एक जार पिउने पानीको मूल्य भने ४७ रुपैयाँ पर्नेछ । यस अघि वणिज्य विभागले बढाएर मूल्य तोक्न दिएको अनुमति घटाएरै नयाँ मूल्य तोकेको एशोसिएसनका अध्यक्ष दुर्गा गौतमले दाबी गरे ।

संसदीय समितिको अनुगमन, निरीक्षण एवं बजारको मूल्य वृद्धिका आधारमा नयाँ मूल्य तोकेको उनको भनाइ छ । नयाँ मूल्य तुलनात्मक रुपमा पहिले तोकेको भन्दा सस्तो बनाइएको गौतमको दाबी छ । ‘महँगी र बिचौलियका कारण उपभोक्तालाई पानी महँगो भएपछि बिचौलिय मूल्य समायोजन गरिएको हो,’ एशोसिएसनका अध्यक्ष गौतमले भने ‘अहिलेको नयाँ मूल्य संसदीय समितिको अनुगमनपछि उपभोक्तालाई राहात दिने गरी तोकेका हौं ।’

२०७६ सालमा वाणिज्य विभागकै सहमतिमा तोकिएको नयाँ मूल्य विवादमा परेपछि रोकिएको र अहिले संसदीय समितिले अनुमति दिएपछि मूल्य समायोजन गरिएको एशोसिएसनको दाबी छ । विभागले २० लिटरको जारको पानीको मूल्य ५० रुपैयाँ र बोत्तल बन्द एक लिटरको पानीको मूल्य १६ रुपैयाँ तोकेको थियो ।

बजारमा पानी उद्योगको प्रतिस्पर्धाका कारण सस्तोमा पानी बिक्री वितरण भइरहेको बेला विभागले बजार मूल्य भन्दा बढी मूल्य निर्धारण गरिदिए पछि पानीको मूल्य विवादमा परेको थियो । संसदको उपभोक्ता हित समितिले उपसमिति नै बनाएर मूल्य वृद्धिबारे अनुगमन गरेको थियो ।
यता वाणिज्य विभागले भने मूल्य वृद्धिबारे औपचारिक कुनै जानकारी नभएको बताएको छ ।

अनौपचारिक ढंगबाट पानीको मूल्य बढाएर पत्रकार सम्मेलन गरेको भन्ने सुनिए पनि औपचारिक कुनै जानकारी विभागमा नआएको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए । ‘कुन प्रकारका पानी, कस्तो मूल्य हो रु पानीको गुणस्तरबारे खाद्यको निर्देशिका कार्यन्वयन भएको नभएको कुनै जानकारी छैन्,’ महानिर्देशक शर्माले भने, ‘हामी औपचारिक जानकारी आएपछि थप अनुसन्धान थाल्छौं ।’

प्रतिक्रिया