शनिबार, माघ २४, २०८२

एस पार्टीको बैठक : कांग्रेसलाई धम्की, एमालेसँग सहकार्य गर्ने प्रस्ताव !

मेरोन्यूज २०७९ असार १० गते २१:४३

काठमाडौँ । नेकपा एकीकृत समाजवादी नेपालले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको विषय निकै चर्चामा छन् । शुक्रबारको पोलिटव्यूरो बैठकमा पनि यसको आन्तरिक चर्चा भयो ।

बैठकमा सहभागी नेताहरुले नेतृत्व र मन्त्री दुवैको आलोचना गरे । निर्णय कार्यान्वयन गर्न नसकेकोमा अध्यक्ष माधव नेपाल र मन्त्रीहरुले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर मन्त्री पद थमौतिका लागि गरेको याचनाको आलोचना भयो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादीको कारण मन्त्रीहरु परिवर्तन हुन नसकेको र माओवादी अध्यक्ष प्रचण्डले देउवलाई उकासेर आफ्नो पार्टीको निर्णय कार्यान्वयनमा अवरोध गरेको बताएका थिए । उनले निर्णय कार्यान्वयनमा गठबन्धन दलका नेताहरुले अवरोध गरिरहेका छन् र त्यसमा आफ्नै पार्टीका नेताहरुले समेत साथ दिइरहेको बताएका थिए ।

सम्मानित नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यन्वयन नगरे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिँदै अध्यक्ष नेपालको पनि कमजोरी भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले पोलिटब्युरो बैठकपछि बोल्दै पार्टीको निर्णय प्रधानमन्त्री देउवाले कार्यन्वयन गरेर मन्त्री हेरफेर गर्नुपर्ने बताएका थिए ।

उनले मन्त्री फेर्ने विषयमा पार्टी सचिवालयले निर्णय गरी सकेको र त्यसलाई पार्टी स्थायी कमिटीले अनुमोदन गरिसकेको बताउदै अध्यक्षले कार्यान्वय गर्नु पर्नेमा जोड दिएका थिए ।

पार्टीको निर्णय नमान्ने नेता कार्यकर्ता वा मन्त्री कोही हुन नसक्ने बताए । त्यसका विरुद्ध पार्टीले आवश्यक कदम चल्ने र कारवाही गर्ने समेत बताए । अहिलेको मन्त्री हेरफेर गर्ने परिस्थिति पार्टीका लागि चुनौतिपूर्ण बन्न पुगेको बताउदै यस्तो विषय आगामी दिनमा मूल्यांकनको विषय पनि बन्ने चेतावनी दिएका थिए ।

पार्टीले निर्णय गरी गरिसकेको र पुर्नविचार गर्ने ठाउँ नभएको बताउदै दायाँ बायाँ यता उता फुल स्पट कमा केही गर्ने ठाउँ नभएको र आफैले गरेको निर्णय आफैले उलंघन गर्ने हो भने पार्टी चल्न नसक्ने बताएका थिए । पोलिटव्यूरो बैठकमा शहरी विकासमन्त्री रामकुमारी झाक्री मौन बसेकी थिइन ।

सो पार्टीको पोलिटब्युरो बैठक चलिरहँदा सबैभन्दा ढिलो प्रवेश गरेकी थिईन् शहरी विकासमन्त्री झाँक्रीले बैठकमा कुनै पनि प्रतिक्रिया जनाएकी थिइनन । दिँउसो १२ बजे सुरु भएको बैठकमा भाग लिन उनी झण्डै साढे २ बजे आलोकनगरमा रहेको पार्टी कार्यलयमा पुगेकी थिइन् । झाँक्रीलाई देख्न साथ संचारकर्मीको टोलीले उनको प्रतिक्रियाका लागि अनुरोध गरेपनि केही नबोली बैठक कक्षमा प्रवेश गरेकी भएपनि बैठकमा पनि उनले आफ्ना धारणा नराखी बाहिर बसेकी थिइन ।

बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले मन्त्री फेरबदलबारेको निर्णय छिट्टै कार्यान्वयन हुनुपर्ने र त्यसका पार्टीको ध्यान जानु पर्ने बताएका थिए । ‘ पार्टीमा यो विषय सर्वसम्मत निर्णय भएकाले कोही कसैले दायबायाँ गर्न हुन्न’, श्रेष्ठको भनाई उद्यृत गर्दै बैठकमा सहभागी भएका एक नेताले भने । बैठकमा संसदीय दलको बैठक बोलाउन बारेमा कुनै छmफल भएको थिएन ।

पेलिटव्यूरो बैठकमा सबैभन्दा बढी संस्कृतिमन्त्री प्रेमबहादुर आलेको विरोध भएको थियो । तर उनको बोल्ने पालो आएपछि आलेले मन्त्री हेरफेरसम्बन्धी पार्टीको निर्णय १२ घण्टाभित्र कार्यान्वयन गर्न आफूले भूमिका खेल्ने बताएर टारेका थिए । मन्त्रालयमा उनले बोलेका शब्द र कार्यशैलीको बारेमा पनि विरोध भएको थियो । त्यसपछि पोलिटब्यूरो बैठकमा बोल्दै मन्त्री आलेले पार्टीको निर्णय मान्न आफू बाधक नभएको प्रष्टीकरण दिएका थिए ।

‘म पार्टीको निर्णय मान्न तयार छु । मैले पहिले नै भनेको हुँ । अब १२ घण्टाभित्र यो निर्णय कार्यान्वयन गर्नका लागि मेरो भूमिका हुन्छ,म पार्टीको पद्दति मान्छु ’, बैठकमा सहभागी एक नेताले बताए ।

नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडाले राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्री पद छाड्ने बताएपनि उनको कार्यशैलीको विषयमा नेताहरुले आलोचना गरेपछि उनी चुपचाप बसेका थिए । अर्का मन्त्री किसान श्रेष्ठले पार्टी अप्ठेरो परिस्थितिमा रहेको बताउदै कांग्रेससँगका गठबन्धन तोडेर जानुपर्ने धारणा राखेका थिए ।

उनले मन्त्रीपदबाट आफूलाई बाहिर रहन त्यति धेरै अप्ठेरो नहुने भएकाले अहिले स्थानीय तहको निर्वाचनलाई हेर्दा कांग्रेससँगको गठबन्धनले धोका हुने बताएका थिए । उनले एमालेसँग सहकार्य गरेर जान सकिने धारणा राखेको पनि स्रोतले जनाएको छ ।

प्रतिक्रिया