चितवनमा हैजाको उच्च जोखिम

भरतपुर । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौँडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् ।
भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा यहाँको पानीमा जुनसुकै बेला प्रदूषण हुनसक्ने उच्च जोखिम छ । यससँगै यहाँका सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
भरतपुर अस्पतालका फिजिसियन डा प्रमोद पौडेल मुख्यरुपमा शुद्ध पानी पिउन सुझाव दिएका छन् । उनको भनाइमा पानी निर्मलीकरण गरेर पिएमा सङ्क्रमण फैलिन पाउँदैन । शौचालय गएर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुन तथा फलफूल सफा पानीले राम्रोसँग धोएर खान उनको सुझाव छ ।
“पानी उमालेर वा क्लोरिन हालेर मात्रै पिउनुपर्छ ।” हैजा फैलिएको क्षेत्रमा जाँदा उच्च सावधानी अपनाउन आग्रह गदैं उनले भने । खानेपानीको पाइपमा ढल मिसिन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।
लगातार पातलो चौलानीपानीजस्तो दिसा हुने, पेट दुख्ने, कसैकसैलाई ज्वरो आउने, जल वियोजन हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिएमा हैजा हुनसक्ने चिकित्सक बताउँछन् । यससँगै मिर्गौलामा असर गर्ने र मृत्युसमेत हुनसक्ने भएकाले रोगको लक्षण देखिएमा तत्काल चिकित्सककहाँ जान उनले सुझाए ।
सङ्क्रमण पानीमार्फत फैलिन नलिन भरतपुर खानेपानी व्यवस्थापन बोर्डले विशेष ध्यान दिएको कार्यकारी निर्देशक प्रजापति दाहाल बताउँछन् । भरतपुरका डुबान भएका क्षेत्रमा जमेको पानी पाइप फुटेका ठाउँबाट भित्र जान सक्ने भन्दै विशेष निगरानी गरिएको उनले बताए । ठाउँठाउँबाट नियमितरुपमा नमूना सङ्कलन गरी परीक्षण भइरहेको पनि उनले बताए ।
दुई दिनअघि जिल्ला सरसफाइ तथा स्वच्छता समिति चितवनको बैठकले पानीका स्रोत र वितरणमा विशेष ख्याल गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरमा ९२ प्रतिशतले सरकारी तवरबाट वितरण गरिएको पानी उपभोग गर्दै आएका छन् । जिल्लामा छिमेकी जिल्लाबाट उपचारका लागि बिरामी आउने भएकाले पनि सङ्क्रमणको जोखिम उच्च रहेको चिकित्सकको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जोखिम रहने भएकाले उच्च सावधानी अपनाउन सरोकारवाला निकायलाई आग्रह गरिएको बताए । रोग भित्रिन नदिन आवश्यक सावधानी अपनाउन भनिएको उनको भनाइ छ । भित्रिहालेमा नियन्त्रण र उपचारका लागि आवश्यक प्रबन्ध गरिने उनले बताए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया