शनिबार, माघ ३, २०८२

मानन्धर बने नेपालकै उत्कृष्ट मेकानिक

मेरोन्यूज २०७९ साउन ९ गते १६:५८

काठमाडौँ । सिप्रदी अटोपार्टस् प्रा.लि.र टाटा मोटर्स् लिमिटडको आयोजनामा नेपालभर छरिएरका १२ सयभन्दा बढी मेकानिकको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर पहिलो, बुटवलका अम्बर गुरुङ दोस्रो र काठमाडौँका डेम लामा तेस्रो भएका छन् ।

प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा दुई सय र दोश्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।

टाटा मोटर्स्का सवारी साधनलाई देशको जुनसुकै स्थानमा मर्मतलाई सहज बनाउन स्थानीय मेकानिक्ससँग सहकार्यका विभिन्न कार्य अगाडि बढाइएको छ । जसमध्ये टाटा गुरु कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम रहेको छ । तिनै टाटा गुरुहरुलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धि गराउँदै आएको छ ।

बजारमा रहेका टाटा गुरुहरुको क्षमताको परीक्षण गरी आवश्यक सुधार गर्नु पर्ने ठाउँको पहिचान गर्न टाटा गुरुहरुको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमकोे नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्टस् प्रा.लि.का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी बताउँछन् । साथै यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पठाइने उनले बताए ।

चितवनको सेभेन स्टार होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले सम्बोधन गरेका थिए । सबै टाटा गुरुहरुको क्षमता अभिवृद्धिको जिम्मेवारी सिप्रदीले लिने बताए ।

साथै कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीजका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले सम्बोधन गरेका थिए । टाटा मोटर्सका तर्फबाट इन्टरनेशनल विजनेस हेड निल कुमार मिश्रले सम्पूर्ण गुरुहरुलाई धन्यवाद भन्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया