लुम्बिनीमा मन्त्रीबाट नहटाउन केन्द्रीय नेतृत्वलाई दबाब

काठमाडौँ । मन्त्रीले हट्न नमानेपछि लुम्बिनी प्रदेशमा मन्त्री फेरबदलको सम्भावना कमजोर बनेको छ । कांग्रेसबाट मन्त्री बनेकाले आफूलाई नहटाउन पार्टीको केन्द्रीय नेतृत्वलाई दबाब दिन थालेका छन् ।
कांग्रेसबाट मन्त्री भएकालाई माओवादी मन्त्रीले समेत सरकार नछाड्न दबाब दिएको सरकारमा सहभागी एक मन्त्रीले जानकारी दिए । ‘कांग्रेस मन्त्रीले छाड्दा आफूहरु पनि हट्नु पर्ने डरले सरकार नछाड्न दबाब दिइरहेका छन्, पार्टी नेतृत्वसँग सल्लाह नगरी हामी पनि मन्त्रीबाट हट्ने कुरा आउँदैन,’ ती मन्त्रीले भने ।
गठबन्धन सरकार बन्नेबेला नै २०७८ साउनमा नेपाल कांग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, सरकारको नेतृत्व फेरबदलले गठबन्धनमै समस्या आउन सक्ने देखिएपछि मन्त्री फेरबदलमा दुवै दल सहमत देखिएका थिए । सरकारमा रहेका मन्त्रीले हट्न नमानेपछि मन्त्री फेरबदलको गृहकार्य अलपत्र पर्ने देखिएको छ ।
आर्थिक वर्ष २०७९-०८० को बजेट पारित भएपछि मन्त्री फेरबदल गर्ने आन्तरिक सहमति कांग्रेस र माओवादी केन्द्रबीच भएको थियो । साउन ५ गतेभित्रै मन्त्री फेरबदल गर्ने सहमति भए पनि हाल कायम मन्त्रीले हट्न नमानेकाले गृहकार्य लम्बिएको हो ।
सत्ता कांग्रेसले असार १३ गते संसदीय दलको बैठक बोलाएर मन्त्री परिवर्तन गर्ने निर्णय गरेको थियो । संसदीय दलको बैठकमा मन्त्रीले आफू सरकारबाट हट्ने कागजमा हस्ताक्षरसमेत गरेका थिए । कांग्रेस प्रदेशसभाका प्रमुख सचेतक फकरुद्दिन खानले पार्टीको संसदीय दलले नै निर्णय गरेको र मन्त्रीले निर्णयमा समेत हस्ताक्षर गरिसकेकाले फिर्ता हुन नखोजेको भन्ने हल्लामात्र भएको बताए ।
‘संसदीय दलले गरेको निर्णय कार्यान्वयन हुन्छ, हट्न नमानेको भन्ने कुरा गलत हो, आफैँले हस्ताक्षर गरेको कुरा कार्यान्वयन नगर्ने प्रश्नै हुँदेन,’ उनले भने । कांग्रेसबाट अहिले लुम्बिनीमा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रीमा दाङका डिल्लीबहादुर चौधरी, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा पाल्पाका वीरबहादुर राना, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्दिन खाँ र वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा बाँकेका सुरेन्द्रबहादुर हमाल छन् । मन्त्री भएका रानाबाहेक अन्य संस्थापन पक्षका हुन् ।
अब, मन्त्री हुने लाइनमा संस्थापनइतर पक्षका धेरै भएकाले मन्त्रीले केन्द्रमा दबाब दिएर सरकारबाट बाहिरिन नचाहेपछि कांग्रेसले नयाँ नाम दिन नसकेको हो । प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता पनि देउवानिकटका वीरेन्द्र कानौडिया छन् ।
कांग्रेसभित्रको दुई समूहको विवादमा माओवादीबाट मन्त्री बनेकाले पनि मन्त्री हेरफेर नहुने वातावरण तयार गर्न आन्तरिक रूपमा लागिरहेको बताइएको छ । माओवादीका मन्त्रीले हेरफेर नगर्ने विषयमा कांग्रेसको नेतृत्वसँग लबिङ गरिरहेको र त्यही विषयमा दलका नेता कनौडियासँग पनि छलफल गरिरहेको कांग्रेसकै एक प्रदेश सभा सदस्यले बताए ।

















विद्रोहपछि बङ्गलादेश को पहिलो चुनावमा बिएनपीको जितको दाबी
प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया