आइतबार, माघ ४, २०८२

२५ दिनपछि पुनः अर्थमन्त्रीमा पदभार, देशको अर्थतन्त्र सुधार गर्ने प्रतिबद्धता

मेरोन्यूज २०७९ साउन १५ गते १९:४७

काठमाडौँ । अर्थमन्त्रीबाट राजीनामा दिएको २५ दिनपछि पुनः अर्थमन्त्रीको पदभार ग्रहण गरेका जनार्दन शर्माले आफू देशको अर्थतन्त्र सुदृढीकरण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार साँझ सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले नेपालको अर्थ व्यवस्था सुदृढ गरी आत्मनिर्भर हुने कुरामा आफू प्रतिबद्ध रहेको बताए ।

‘नयाँ आर्थिक वर्ष भर्खरै प्रारम्भ भएको छ, हामीले नयाँ बजेट तयार गरेका थियौँ, त्यो पारित भएर कार्यान्वयनको चरणमा छ, त्यसको मूल उद्देश्य सिद्धान्त आयात प्रस्थापन गर्नु, उत्पादन वृद्धि गर्नु, वैदेशिक मुद्रा सञ्चित गर्नु तीन वटा मूलभूत उद्देश्यमा केन्द्रित भएर बनाएका हौँ,’ उनले भने, ‘त्यसलाई कार्यान्वयन गरी नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरी आत्मनिर्भर बनाउन प्रतिबद्धता दोहोर्याउन चाहन्छु ।’

उनले आफूलाई पुनः अर्थमन्त्री बनाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत धन्यवाद दिए । उनले सबैसँग मिलेर काम गर्न चाहेको बताए ।

प्रतिक्रिया