मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा मुआब्जा वितरण

काठमाडौँ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा तनहुँको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु गरिएको छ । सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्डको म्याग्दे गाउँपालिकाको जामुनेदेखि शुक्ला गण्डकी नगरपालिकाका कोत्रेसम्मका संरचना हटाउन मुआब्जा वितरण सुरु गरिएको हो ।
उक्त खण्डका एक सय ३८ संरचना हटाउनु पर्नेमा ४२ घरका लागि ४० लाख मुआब्जा रकम वितरण गरिएको सडक योजना (पश्चिम खण्ड)का प्रमुख अमित श्रेष्ठले जानकारी दिए । एक सय ३८ संरचना हटाउन दुई करोड ४५ लाख ३९ हजार रुपैयाँ मुआब्जा वितरण गरिने उनले बताए ।
व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाललगायत संरचना हटाउन मुआब्ब्जा वितरण थालिएको बताइएको छ । सडकको मापदण्ड २५–२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाललगायतका संरचना हटाउन आयोजना प्रभावितलाई क्षतिपूर्तिबापत मुआब्जा वितरण गरिएको श्रेष्ठले बताए ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उपसमितिले म्याग्देको जामुनेदेखि शुक्ला गण्डकीको कोत्रेसम्मका एक सय ३८ संरचनाको क्षतिपूर्ति रकम वितरण गर्ने निर्णय गरेको थियो । एसियाली विकास बैंकको ‘सेफगार्ड पोलिसी स्टेटमेन्ट’ अनुसार आयोजना प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनु पर्ने व्यवस्था भएकाले मुआब्जा वितरण सुरु भएको आयोजना प्रमुख श्रेष्ठले बताए ।
आयोजनाले गत असार १९ गते सूचना प्रकाशित गरी संरचना धनीलाई सम्बन्धित पालिकाका वडा कार्यालयको सक्कल सिफारिस पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, बैंक खाता नं र हालसालै खिचेको फोटो निवेदनमा टाँस गरी कार्यालयमा सम्पर्क राख्न आउन अनुरोध गरेको थियो । घरटहरा आदिका लागि क्षतिपूर्ति रकममध्ये आधा रकम पहिलो किस्ता स्वरुप लिई पहिलो किस्ताबापतको क्षतिपूर्ति रकम बुझेको मितिले एक महिनाभित्र सम्पूर्ण संरचना हटाइ सो को पुष्टि गरेपछि थप रकम भुक्तानी गरिने जनाइएको छ ।
मुग्लिन–पोखरा राजमार्गलाई चार लेन बनाउन तनहुँमा दुई खण्ड विभाजन गरी कामलाई अगाडि बढाइएको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले पाएको छ । उक्त कम्पनीले अहिले सडक फराकिलो बनाउने काम गरिरहेको छ ।
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डमा आर्थिक वर्ष २०७८–७९ को अवधिमा ५७ करोड चार लाख ४२ हजार ९६ खर्च भइसकेको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।
पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्ने छ ।
















Forest fire prevention campaigns initiated in Bhojpur
गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने
९५५ केजी गाँजासहित दुई जना पक्राउ
Hridayachandra Memorial Award conferred on Ram Binaya
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
प्रतिक्रिया