बिहीबार, वैशाख २४, २०८३

जनमत पार्टीद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन

मेरोन्यूज २०७९ साउन ३० गते २०:२३

काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ताविरुद्ध प्रदर्शन गरेको छ । सोमबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको गोलबजार सडक खण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

Advertisement
NiccNicc

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले आइतबार फिर्ता गरेकी छन् । जसको विरोधमा जनमत पार्टीले मदेसका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेको पार्टीका नेता बिपी साहले जानकारी दिएका छन् ।

‘राष्ट्रपतिको कदम निन्दनीय र जनहितविपरीत रहेकाले यसको विरोध गरेका छौँ,’ नेता साहले भने, ‘नागरिकता नपाएर केहीले आत्महत्या गरिसकेका छन्, धेरैले मानसिक यातना खेपिरहेका छन्, तर सात वर्षदेखि राज्यले नागरिकताविहीनमाथि यातना थोपर्दै गएको छ ।’

नागरिकताविहीनलाई नागरिकता नदिने भए शरणार्थी घोषणा गर्न नेता साहले माग गरे । ‘नेपाल सरकारले उनीहरूलाई नेपाली भनेर नागरिकता दिन सक्दैन भने उनीहरूलाई शरणार्थी घोषणा गरोस्, शरणार्थीको पहिचान लिएर भए पनि उहाँहरूले गुजारा गर्न सक्ने छन्, मुद्दा लड्न सक्ने छन्,’ नेता साहले भने, ‘तर, नेपाली पनि नमान्ने र जीवन जिउन पनि कठिन बनाउने यस्तो शासन चाहिँदैन ।’

नागरिकता विहीनलाई तत्काल नागरिकता उपलब्ध गराउन माग गर्दै नेता साहले तत्काल संसदबाट नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि पठाउन आग्रह गरे ।

प्रतिक्रिया