आइतबार, माघ ११, २०८२

७५ हजार घुस लिएको आरोपमा इञ्जिनियर पक्राउ

मेरोन्यूज २०७९ भदौ ४ गते २०:३१

काठमाडौँ । सेवाग्राहीसँग ७५ हजार घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट एक इञ्जिनियर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका इञ्जिनयिर अम्लेशकुमार निक्लम रहेका छन् ।

स्याङ्जास्थित एक विद्यालय पुनः निर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई दमौलीस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।

‘निजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयसँग समन्वय गर्दैछौँ,’ प्रहरी नायब उपरीक्षक युवराज खड्काले भने, ‘पक्राउ परेका प्राविधिक करारका कर्मचारी रहेको बुझिएको छ ।’

विद्यालयको भवन पुनः निर्माणका क्रममा अन्तिम निकाशाका लागि काम गरिदिनका लागि निजले रकम माग गरेको बताइएको छ । केही समय पहिलादेखि रकम माग गर्दै आएका उनलाई आज दमौलीमा रकम दिने शर्तसहित बोलाइएको थियो । उनी आजै बिहान सप्तरीबाट दमौली आइपुगेका थिए ।

इञ्जिनियर निक्लम शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जामा असार मसान्तसम्म करारमा कार्यरत थिए । साउन १ गतेदेखि करारमा कार्यरत कर्मचारीको म्याद नथपिएकाले उनी कार्यालयमा हाजिर नरहेको शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया