कविराम र कर्णबहादुरले पाए सच्चा नामको नागरिकता

दैलेख । नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुवैको नाम सच्याइएको छ । नेपाली नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकको नागरिकता सच्चिएको हो ।
साबिक मेहेलतोली गाविस ६ हाल भगवतीमाई गाउँपालिका मेहेलतोलीका कविराम र साबिक कट्टी गाविस ६, हाल भगवतीमाई गाउँपालिका ५ का कर्णबहादुरको नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालयले अपमानजनक नाम सच्चाएर नयाँ नागरिकता जारी गरेको हो । तत्कालीन मेहेलतोली गाउँ पञ्चायत ६, हाल भगवतीमाई गाउँपालिका ३ मा २०१७ पुस २५ गते जन्मिएका कविराम कामी अहिले उमेरले ६२ वर्ष पुगेका छन् ।
तत्कालीन श्री ५ को सरकार, जिल्ला कार्यालय दैलेखबाट २०४६ जेठ ७ गते नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए । तत्कालीन समयमा गाउँमा पुगेको नागरिकता टोलीले उनलाई ‘कुकुर कामी’ नाम राखेर नेपाली नागरिकता थमाएको थियो ।
नागरिकतामा अपमानजनक नाम भएको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन गरेको थियो । साउन २३ गते गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो ।
गृहको परिपत्रसँगै कविरामले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।
कविराम जस्तै नेपाली नागरिकतामा ठगे कामी लेखिएका साबिक कट्टी गाविस ६, हाल भगवतीमाई गाउँपालिका ५ का कर्णबहादुरको पनि नागरिकताको महलमा कर्णबहादुर विक लेखिएको नयाँ नागरिकताको प्रतिलिपि पाएका छन् । नामकै कारण अपमानित हुनु परेका कर्णबहादुरले साउन २९ गते जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।
आवश्यक प्रक्रिया पुर्याएर कविराम कामी र कर्णबहादुर विकको नयाँ नागरिकताको प्रमाणपत्र जारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
‘हामीले नागरिकतामा कुकुर कामी लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकलाई नागरिकताको नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपि जारी गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने । उनले नागरिकतामा अपमानजनक नाम लेखिएका अन्य व्यक्तिहरूलाई पनि जिल्ला प्रशासनको सम्पर्कमा आउन आग्रह गरेका छन् ।















अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया