सोमबार, फागुन ११, २०८२

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मेरुदण्ड नै प्रदेश होः मुख्यमन्त्री भट्ट

मेरोन्यूज २०७९ असोज ३ गते १५:४०

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेकाले मुलुकमा सङ्घीयतालाई सफल बनाउन सप्रदेशलाई बढीभन्दा बढी सक्षम बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

Advertisement
nepal life insurencenepal life insurence

“सङ्घीयताको विकल्प छैन”, मुख्यमन्त्री भट्टले भन्नुभयो, “राष्ट्रियतालाई मजबुत बनाउनका लागि पनि हामी सबै एकताबद्ध हुन जरुरी छ ।” उहाँले नेपालको संविधान जारी गर्दा अधिकतम सहमति, अधिकतम एकता, अधिकतम जनताले चुनेका प्रतिनिधिले निकै मेहनत गरेर संविधान जारी गरेको हुनाले यो संविधान धेरै उत्कृष्ट रहेको पनि उल्लेख गर्नुभयो ।

जनताको विकास समृद्धि र समुन्नतिप्रतिको अभिलाषा पूरा गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको उहाँको भनाइ छ । मुख्यमन्त्री भट्टले संविधानको सफल कार्यान्वयनका लागि तीन तहकै सरकार, राष्ट्रसेवक कर्मचारी र नागरिक सबैले आ–आफ्नो दायित्व बोध गरी लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेशका सभामुख, उपसभामुख, प्रदेश सरकारका मन्त्री, विभिन्न दलका नेता र स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया