सङ्गीता धामी : ‘सागका स्वर्ण, निर्वाचनमा म्यादी’
सङ्गीता भन्छिन्– म्यादी प्रहरीबाट आएको रकमले आमालाई थोरै भए पनि सुन किनेर रहर पूरा गर्ने योजना छ

महेन्द्रनगर । खेलकुद क्षेत्रमा उदयीमान खेलाडीका रुपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी म्यादी प्रहरी बनेकी छन् । उनी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना भएकी हुन् ।
पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको धामीको भनाइ छ । हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता धामी १३ औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग)मा पहिलोपटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हुन् ।
“हामीले खेलकुदका माध्यमबाट देश चिनाएर आफ्नो कर्तव्य पूरा गर्यौँ”, हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीमा कार्यरत धामीले भने, “तर राज्यले इतिहास रच्ने खेलाडीको रोजगारीको ग्यारेन्टी नगर्दा खेलाडी हुँ भन्न पनि गाह्रो मान्नुपर्ने अवस्था आयो ।”
दार्चुलाको शैल्यशिखर नगरपालिका स्थायी घर भएकी धामी कञ्चनपुरको भीमदत्त नगरपालिका ३ तिलकपुर ठूलोबुवाको घरमा बस्दै आएकी छिन् । बाल्यावस्थामै बुवा अर्कै श्रीमती लिएर घरबाट निस्केपछि आमा धनादेवीको सहारामा यहाँसम्म आइपुगेकी धामीको अझै पारिवारिक अवस्था दयनीय छ ।
“आमाले भैँसीपालन गरेर दूध बेचेर हामीलाई यहाँसम्म पुर्याउनु भयो”, उनले भनिन्, “अहिले कहिलेकाहीँ म पनि दूध बेच्न महेन्द्रनगर बजार आउँछु ।” धामी म्यादी प्रहरीमा भर्नासँगै यही बीचमा नवौँमा स्वर्ण जितेर आएकी थिइन् ।
सागका स्वर्ण जित्दा सरकार र विभिन्न नगरपालिकाबाट पाएको रकमले घर खर्च चलेको उनको भनाइ छ । “सानैमा बुवाले आमालाई छाडेर जाँदा उहाँले लगाउने खाने रहर अधुरै रह्यो”, धामीले भनिन्, “म्यादी प्रहरीबाट आएको रकमले आमालाई थोरै भए पनि सुन किनेर रहर पूरा गर्ने योजना छ ।”
सङ्गीताकी बहिनी रीता प्रवीणता प्रमाणपत्र तह र सङ्गीता स्नातक तहमा अध्ययनरत छिन् । “दुवैको खर्च पनि मेरै खेलकुदबाट आएको रकमले चलेको थियो”, उनले भनिन्, “अहिले स्वर्ण जितेर आउँदा रातो टीकासम्म लगाएर हौसला दिनुभएन ।”
खेलकुद र पढाइलाई निरन्तरता दिएकी सङ्गीताले नेपाली सेना र प्रहरीमा जागिर खाने धोको पूरा नहुनेमा चिन्ता रहेको दुखेसो पोखिन् । “ अन्तर्राष्ट्रियस्तरमा पदक मुलुकलाई दिलाउँदा कतै जागिर पाइन्छ कि भन्ने आशा थियो”, उनले भनिन्, “अहिले पनि यति ठूलो खेलाडी म्यादीमा हुँदा समाजले कति कुरा काट्छन कि भनेर चिन्ता हुन्छ ।”
खेलाडी भएर मुलुकको इज्जत बढाउने स्तरका प्रतिभावान खेलाडीलाई राज्यले रोजगारीका विषयमा सोच्नुपर्ने उनको भनाई छ । “पदक दिलाउने खेलाडीलाई पालिकास्तरसम्म भए पनि जागिरको व्यवस्था गर्नुपर्छ”, उनले भनिन्, “शरीरमा ताकत हुँदा खेलेपनि पछि गएर जिविका चलाउन बाहिरिनुपर्ने बाध्यता भयो ।”
उनले अन्य मुलुकमा अन्तर्राष्ट्रियस्तरमा पदक ल्याउने खेलाडीलाई सम्मान र रोजगारीको कुनै कमी नहुने गरेको बताइन् । “अहिले म्यादीमा भर्ना भएर राज्यले गरिरहेको चुनावमा सुरक्षा प्रदान गर्ने जिम्मेवारी पाउँदा हर्षित नै छु”, उनले भनिन्, “स्थायी रोजगारी पाउने आशैआशमा निराशा छाएको छ ।”
सङ्गीतासँगै कुस्तीकी नवौँ राष्ट्रिय प्रतियोगितामा अर्की स्वर्ण पदक विजेता खेलाडी हेमा भट्टलगायत पाँच÷छ जना राष्ट्रिय खेलाडी अहिले कञ्चनपुरमा म्यादीमा भर्ना भएका छन् । कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले खेलाडीलाई राज्यले सुविधा दिने विषयमा सोच्नुपर्ने बेला आएको बताए ।
‘सागको स्वर्ण जित्ने चेलीले आज जागरिका लागि भौतारिनुपर्ने बाध्यता आउनु राम्रो कुरो होइन”, उनले भने, “अब पालिकामा पदक विजेता खेलाडीलाई रोजगारीको व्यवस्थाका लागि गुहार माग्छौँ ।” उनले खेलाडी भएर बाँच्न मात्रै गाह्रो रहेको बताए । नवौँ राष्ट्रियमा सुदूरपश्चिमले १० स्वर्ण जित्दा कुस्तीमा मात्रै कञ्चनपुरका पाँच महिला खेलाडीले स्वर्ण दिलाएका थिए ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया