मंगलबार, माघ १३, २०८२

मदिरा सेवन गर्ने मतदान अधिकृत निलम्बन

मेरोन्यूज २०७९ मंसिर १ गते २१:१७

काठमाडौँ । नवलपरासी पश्चिममा मदिरा सेवन गरेका मतदान अधिकृत निलम्बनमा परेका छन् । निर्वाचनका लागि मतदान अधिकृतको जिम्मेवारी प्राप्त गरेका पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरीलाई मतदान अधिकृतबाट निलम्बन गरिएको हो ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी नवलपरासी पश्चिम सुनवल नगरपालिका ११, स्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा मतदान अधिकृतको रुपमा खटिएका थिए ।

उनले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने समयमा मुख्य निर्वाचन अधिकृतसँग अस्वाभाविक व्यवहार देखाई विवाद गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिई प्रहरीले स्वास्थ्य परीक्षण गराउँदा मादक पदार्थ सेवन गरेको पाइएकाले नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।

उक्त मतदान स्थलमा वैकल्पिक मतदान अधिकृत नियुक्ति गरी पठाइएको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए । नियन्त्रणमा लिइएका मतदान अधिकृतलाई निर्वाचन आचार संहिताले व्यवस्था गरेको सजायअनुसार कारबाही हुने भएको छ ।

प्रतिक्रिया