बुधबार, पुष ९, २०८२

काभ्रेमा फैलिएको रेबिज संक्रमण नियन्त्रण

मेरोन्यूज २०७९ पुष १३ गते १०:३१

काठमाडौँ । काभ्रेमा पछिल्ला केही महिनादेखि पशुचौपायामा देखिएको रेबिज रोगको संक्रमण नियन्त्रणमा आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा रेबिजविरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो ।

गत मंसिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण नियन्त्रणमा आएका बेला काभ्रेपलाञ्चोकको अर्को स्थानीय तह मण्डनदेउपुरको एक वडामा संक्रमण देखिएको थियो ।

केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका १० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएपछि त्यस क्षेत्रका पशुचौपायालाई खोप लगाइएको केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईंले बताए । उनका अनुसार हाल उक्त नगरमा रेबिजको संक्रमण नियन्त्रणमा आएको छ ।

मण्डनदेउपुर नगरकै केही स्थानमा बितेको दुई महिनाको अवधिमा २२ गाई मरेका थिए । यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ३० व्यक्तिलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताए । उक्त स्थानमा स्थानीय स्तरका स्वास्थ्य शाखा र पशु शाखा जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोलीसहितले निगरानी गरिरहेका छन् ।

यसैगरी जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिजका कारण पशुचौपाया मरेपछि करिब एक सय स्थानीयवासीलाई रेबिजविरुद्ध खोप लगाइएको छ । महाभारतका दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेका थिए ।

कुकुरले टोकेर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नं वडाको गोकुले र ८ नं वडास्थित घर्तीछापका एक सय स्थानीयबासीलाई रेबिजविरुद्धको खोप लगाइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए । मासु खाएका थप स्थानीयबासीको खोजी भइरहेको छ । डेढ सय पशुचौपायालाई रेबिजविरुद्धको खोप दिइएको छ ।

रेबिज संक्रमण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाईँले महाभारत र मण्डनदेउपुरमा अध्ययन भइरहेको बताए । ‘खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्ण रूपमा सुरक्षित भइन्छ,’ उनले भने । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन ।

प्रतिक्रिया