शुक्रबार, माघ १६, २०८२

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार पक्राउ

मेरोन्यूज २०७९ माघ ६ गते १६:२२

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ, धादिङ, दाङ र सर्लाहीबाट एक÷एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन पदार्थ १ ग्राम ७ मिलिग्रामसहित ईलाम सूर्योदय नगरपालिका–१० का १९ वर्षीय सुबेक प्रधानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। झापाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब २० केजी र नगद ४९ हजार रूपैयाँ सहित स्याङ्जा भिरकोट नगरपालिका–२ का ३५ वर्षीय प्रेम गुरुङलाई शुक्रबार बिहान प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ग १४१० नम्बरको माईक्रोबाट पक्राउ गरेको हो ।

दाङ, राप्ती गाउँपालिका–१ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ३७ मिलिग्रामसहित ३० वर्षीय बिशाल थापालाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै, सर्लाही, बरहथवा नगरपालिका–७ बाट नियन्त्रित लागूऔषध नाईट्राभेट २७ ट्याब्लेट सहित २३ वर्षीय राम उजैन पासवानलाई शुक्रबार बिहान ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकाहरूका सन्दर्भमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया