मंगलबार, चैत १०, २०८२

धनुषामा एक सय १० मिटर ब्याज पीडितको समस्या समाधान

मेरोन्यूज २०७९ माघ १८ गते २१:१२


धनुषा । धनुषामा मिटर ब्याज पीडितका समस्या समाधान गर्नका लागि गठित छानबिन समितिले हालसम्म एक सय १० जनाको समस्या समाधान गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

धनुषामा मिटर ब्याजीको समस्यामा परेका पीडितले दिएको निवेदनमाथि छानबिनका लागि गठित पाँच सदस्यीय समितिले हालसम्म एक सय १० वटा समस्याको समाधान गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजीको समस्यासम्बन्धी दुई सय ९८ वटा उजुरी परेको छ । परेका उजुरीमाथि छानबिन गरेर पीडित तथा पीडक पक्षलाई बोलाएर छलफलपछि सहमति गराउने तथा पीडकले बनाएका कागज फाड्न लगाउने काम भइरहेको प्रजिअ दाहालले जानकारी दिनुभयो । दुवै पक्षलाई बोलाएर छलफल र सहमति गराउने काम भइरहेकाले समस्याको समाधान हुने गरेको छ ।

उजुरीका आधारमा मिटर ब्याजीको आरोप लागेका ऋण दिने धनी तथा पीडितलाई बोलाएर छलफल गराउने काम जिल्ला प्रशासन कार्यालय धनुषाले नियमितरूपमा गर्ने गरेको छ । यसका लागि सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालयका अन्य कर्मचारी तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारी परिचालन गरिएको प्रजिअ दाहालले बताए।

मिटर ब्याजका कारणले कतिपयको उठीबासको अवस्था आएपछि नेपाल सरकारले छानबिन समिति बनाएको र सो समितिले समस्या समाधानका लागि प्रतिवेदन दिएपछि अहिले जिल्ला जिल्लामा छानबिन भइरहेको छ । मिल्न नसक्ने र धेरै जालसाजी गर्नेमाथि कारबाही गर्ने पक्षमा जिल्ला प्रशासन कार्यालय धनुषा रहेको प्रजिअ दाहालले जनाए।

कतिपय मिटर ब्याजी उजुरी परेपछि आफैँ सहजरूपमा प्रस्तुत भएका छन् भने समस्या समाधानका लागि सहयोग गरेको छानबिनमा खटिएका समितिका कर्मचारीले जनाएका छन् । धनुषामा साहु महाजनसँग ऋण लिएर वैदेशिक रोजगारी, उपचार तथा छोरीको विवाहमा खर्च गरेको पाइएको छ ।

प्रतिक्रिया