बुधबार, चैत ११, २०८२

विदेशको कमाइले स्वदेशमै बने उद्यमी

मेरोन्यूज २०७९ फागुन ७ गते १८:५२

काठमाडौँ । मोरङ बेलबारी नगरपालिका ९ डाँगिहाटका किसान विवेक बोगटी बिहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन् । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उनी च्याउ उत्पादनमा लागेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उनले यस वर्ष मात्रै करिब ५० लाख आम्दानीको लक्ष्य लिए । तीन वर्ष मलेसिया बस्दा कमाएको करिब एक लाख ५० हजार लगानी गरी उनले मेहनती मसरुम कृषि फर्म सुरु गरेका हुन् । हाल कम्पनीमा एक करोडभन्दा बढी लगानी भइसकेको उनको भनाइ छ ।

तीन कठ्ठा क्षेत्रफलमा तीन वटा प्लाष्टिकका टनेलमार्फत सुरु गरिएको च्याउखेती हाल हाल चार वटा पक्कि घर बनिसकेका छन् भने थप तीन वटा बन्ने क्रममा छन् । च्याउ उत्पादन हुने पक्की घर ५० फिट लम्बाई र २२ फिट चौडाइका छन् । एउटा घरमा एक हजार दुई सय ६५ वटा च्याउका पोका रहने र ती पोकामा राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीको भनाइ छ ।

वार्षिक तीन लट उत्पादन हुने र प्रत्येक लटमा करिब १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी छ । गर्मीभन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उनले हाल दैनिक नौ सय किलोसम्म उत्पादन भएको जानकारी दिए ।

उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ । हाल थोकमा एक सय ५० का दरले च्याउ बिक्री भइरहेको उनले जानकारी दिए । उत्पादन गरिएको च्याउ हरेक बिहान ४ बजेसम्म इटहरी पुर्याई सक्नु पर्ने र ७ बजेसम्ममा बिराटनगर र धरानसम्म पुर्याई सक्नु पर्ने हुन्छ ।

दैनिक रुपमा अटो रिक्साबाट पनि स्थानीय क्षेत्रमा पुर्याउन समस्या हुन थालेपछि अब आफै पिकअप भ्यान खरिद गर्ने योजना बनाए । उनले हाल फर्ममा स्थानीय पाँच जनालाई दैनिक ज्यालादारिमा रोजगारी दिइरहेका छन् । आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना बनाउँछन् उनी ।

सुन्दरहरैचाको गछियास्थित बहिनी ज्वाँइ विजय सापकोटाले सञ्चालन गरेको च्याउ उद्योगबाट प्रभावित भएर सोही पेसा रोजेको बोगटीको भनाइ छ । सापकोटाले १० वटा घर निर्माण गरी च्याउ उत्पादन गरिरहेका थिए । तर, दुई वर्ष अघि उनको फर्म आगलागीबाट जलेर नष्ट भएको थियो । हाल उनी काठमाडौँस्थित च्याउको विउ उत्पादन गर्ने ल्याव सञ्चालन गरिरहेका छन् ।

विवेक वोगटीले पनि सोही ल्यावबाट कन्ये जातको च्याउको विउ लिइरहेका छन् । दुई वर्षअघि डल्ले च्याउ उत्पादन टनेल निर्माण गर्न भनेर प्रदेश १ सरकारले २० लाख अनुदान दिएको उनले सुनाए । डल्ले च्याउ राम्रो उत्पादन नभएपछि अहिले लगाउन छोडेको उनी बताउँछन् ।

“वैदेशिक रोजगारी छाडेर उद्यमी बन्न चाहने युवालाई बैंकहरुले सरल कर्जा दिन्छ भन्ने सुनेर बिराटचोकस्थित कृषि विकास वैंकमा पटक–पटक जाँदा पनि बैंकले कुनै वास्ता गरेन, त्यसपछि जानै छाडे”, उनले गुनासो गरे ।

प्रतिक्रिया