रुग्ण आयोजनाका निर्माण व्यवसायीलाई मन्त्रीले दिए सम्पन्न गर्ने समय सीमा

काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशका रुग्ण आयोजनाका निर्माण व्यवसायीहरूलाई मन्त्रालयमै बोलाएर आयोजना सम्पन्न गर्ने समय सीमा र गुणस्तरबारे चासो लिएका छन् ।
उत्तर–दक्षिण व्यापारीक मार्ग विस्तार आयोजना निर्देशनालय, पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) राजमार्ग निर्देशनालय र सडक सुधार तथा विकास आयोजना निर्देशनालय अन्तर्गतका कतिपय खण्डहरू व्यवसायीहरूकै कारण रुग्ण आयोजनामा परेका छन् ।
सोमबार व्यवसायीहरूसँग भएको चलफलमा उपप्रधानमन्त्री श्रेष्ठले तोकिएको समयमै र गुणस्तरमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए । त्यस क्रममा व्यवसायीले समयमै र गुणस्तरीय कार्य गर्ने प्रतिबद्धता जनाए ।
छलफलमा उपप्रधानमन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, निवर्तमान महानिर्देशक अर्जुनजंग थापा तथा हुलाकी सडक निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र उत्तर दक्षिण तथा व्यापारिक मार्ग निर्देशनालयका प्रमुखहरू समेत सहभागी थिए ।
छलफलमा मातहतका निकायबाट देशैभरिका रुग्ण आयोजनाको अवस्थाबारे जानकारी लिँदै उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायीलाई ती आयोजना रुग्ण बन्नुको कारणबारे जिज्ञासा राखेका थिए । आफ्ना समस्या पनि खुलेर राख्न सुझाव दिँदै उनले रुग्ण परियोजना कहिलेसम्म सम्पन्न हुन्छ ? भनेर प्रश्न गरे ।
‘काम ओगटेर बसेकाले काम नभएको हो कि मन्त्रालयले सहजीकरण नगरेर वा भुक्तानी र कर्मचारीको समस्याले ?’ उनले भने, ‘सकारात्मक दृष्टिकोणका साथ यी समस्या समाधान गर्ने र चाँडो परिणाम ल्याऔं भन्ने हाम्रो ध्येय छ ।’
त्यस क्रममा निर्माण व्यवासायीले विविध समस्या देखाउँदै अब भने निर्धारित समय र गुणस्तरमै काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाएका छन् । हरेक १५–१५ दिनमा निर्देशनालय प्रमुखबाट रुग्ण आयोजनाको प्रगति विवरण लिइने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
केही साता अघिमात्रै उपत्यका केन्द्रीत केही रुग्ण आयोजनाबारे यस्तै छलफल भएको थियो । र, त्यसपछि त्याहाँ कामले अपेक्षित गति लिएको थियो ।
हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत ७ वटा आयोजना रुग्ण रहेको र मोहना खेला, डोकेबजार, बेलौरी, धाइजी, कञ्चनपुर सडकमार्गको जिम्मा पाएको शर्मा राजेन्द्र जेभीले असार मसान्तसम्म निर्माण सक्ने प्रतिबद्धता गरेको छ ।
यसैगरी धाँधर खोला पुल र पतरी खोला पुल निर्माणको जिम्मा पाएको लोहनी ब्रदर्सले १० दिनमा कामलाई गति दिने बताएको छ । नत्र ठेक्का नै तोडिने सहमति भएको छ ।
हुलाकी अन्तर्गत नै गोपीगञ्ज, नारायणचोक, परासीचोक सडकखण्ड निर्माणको जिम्मा पाएको कञ्चनजंघा बिरुवा शिवशक्ति जेभीले २५ दिनमा काम सक्ने बताउँदा कमला नदी पुल बनाउने जिम्मा लिएको पप्पु–लुम्बिनी जेभीले नयाँ डिजाइन प्राप्त भएपछि काम थाल्ने प्रतिबद्धता गरेको छ ।
हुलाकी राजमार्ग अन्तर्गतको मनमत, कलैया, मतिरर्वा सडक बनाउने ठेक्का लिएको सप्तकोशी जलाधार ओमसाही जेभी र मोहना, डोकेबजार, बेलौरी धाइजी कतिपय खण्ड निर्माणको जिम्मा पाएको बाबाहंश शिद्धिशाही कम्पनी सम्पर्कमा आएको छैन ।
यसैगरी सडक सुधार तथा विकास आयोजना अन्तर्गत भेडेटार, राँके सडक निर्माणको जिम्मा पाएको आप्को इन्फ्रा इन्डियाले चालु आवमा २५ किलोमिटर र आगामी वर्षको अन्त्यसम्म सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता गरेको छ । लमही, घोराही, तुल्सीपुर सडक खण्ड बनाउने जिम्मा पाएको तथ्य इन्जिनियरिङ कम्पनीले ८ मार्चसम्म उल्लेख्य प्रगति नगरे ठेक्का तोडिने भएको छ ।
मुडे, चरिकोट सडक बनाउने काम चैतसम्म सक्ने निर्माण कम्पनी सुनौला खिम्तीले जनाएको छ । यसैगरी एआईपीएल शैलुङ जेभीले बनाइरहेको भक्तपुर नगरकोट सडकको निर्माण कार्य चैतसम्म सकिने छ । दिनेशचन्द्र शंकर माली जेभीले बसन्तपुर, पपरादी सडकको काम असार मसान्तसम्म ४५ प्रतिशत सक्ने बताएको छ ।
यता मध्य पहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत आरुघाट, ओख्ले सडक असार मसान्तसम्म सकिने रसुवा इलाइट सुर्य जेभीले जनाएको छ । जोरसाल, तमोर, संक्रान्ति, म्याङलुङ सडकका विभिन्न खण्ड सम्बन्धित निर्माण कम्पनीहरूले आउने असार मसान्तसम्म सक्ने जनाएका छन् । यो खण्डमा भरत, मैनाचुली, सिद्धिशाही, कन्टेक, गौरीपार्वती, कोशी लगायत निर्माण कम्पनीले काम गरिरहेका छन् ।
मध्य पहाडीअन्तर्गत नै हिले, लेगुवा सडक निर्माणको जिम्मा पाएको रौतामाई सन्तोषी बिरुवा जेभीले जेठसम्म काम सक्ने जनाएको छ । यसैगरी खण्डुवा खोलामा पुल निर्माण कार्य वैशाख १५ मा सकिने बिरुवा गल्वा जेभीले जनाएको छ । भोजपुर, दिक्तेल सडकको काम असारभित्र सकिने भरत मैनाचुली सिद्धिशाही जेभीको प्रतिबद्धता छ ।
सिरुवा कन्स्ट्रक्सनले बनाइरहेको पंखु खोला पुल जेठसम्म निर्माण सम्पन्न हुनेछ । यसैगरी देउरी, सामरी भञ्ज्याङ, कटुञ्जे सडकको जिम्मा पाएको लुम्बीनी मृत सञ्जीवनी जेभीले असारसम्म काम सक्ने प्रतिबद्धता गरेको छ । यसैगरी पाटीहाल्ने, रुकुमकोट सडकको काम असारसम्म सकिनेछ । सो कामको जिम्मा मरत महादेव खिम्ति जेभीले पाएको हो ।
ओख्ले, घ्याम्पेसाल, खहरे सडक बनाउँदै गरेको एमपी एसपी एफईसीसी जेभीले असारसम्म र पिपलटार देउडी सडकको जिम्मा पाएको गौरीपार्वती महालक्ष्मी नागार्जुन् जेभीले पनि असारभित्रै काम सक्ने बताएका छन् ।
उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तगर्तत खहरे खोला पुल र रुप्से खोला पुल रुग्ण छन् । यी पुल बनाइरहेका सिरुवा कन्स्ट्रक्सन र गजुरमुखीसँगको ठेक्का तोडिसकिएको छ । झैते, कोरोला सडक बनाइरहेको तामाङ गौरीपार्वती कोशी न्यौपाने जेभी, घासा, जोमसोम, कोरोला बनाइरहेको पप्पु गौरी पार्वती कोशी न्यौपाने जेभी, मिर्मि फलेबास कुस्मा सडकखण्ड निर्माण गरिरहेको सूर्य कन्स्ट्रक्सनले असार मसान्तसम्म काम सक्ने बताएका छ ।
हिल्सा सिमिकोट सल्लीसल्ला रोड र सिमिकोट खर्बु हुम्ला बनाइरहेका अनक कविन्द्र माउन्टेन जेभीले जग्गा विवाद समाधान भए काम सक्ने प्रतिबद्धता गरेका छन् । धुलिखेल निशान जेभीले यांगर खोलाको पुलका लागि चीनबाट सामान आइसकेको र असारभित्र काम सक्ने बताएको छ ।
कञ्चनगंघा बिरुवा जेभीले बुटवल बेलहिया सडकको काम असारसम्म सक्ने बताएको छ । रुकुम पूर्वको काँक्री मैकोट खण्डको ३८ किमि सडक चौडा गरी ग्राभेल स्तरमा उन्नती गर्ने कामको जिम्मा पाएको पप्पु कोशी न्यौपाने जेभीको ठेक्का तोडिएको छ भने जोमसोम कोगबेनी बनाइरहेको रौता आत्रेय सारस जेभी सम्पर्कमा आएको छैन ।
















नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया