आइतबार, वैशाख २७, २०८३

भारतमा पुरस्कार समारोहको क्रममा ‘लू’ लागेर ११ जनाको मृत्यु

मेरोन्यूज २०८० वैशाख ४ गते १०:५६

काठमाडौं । भारतको महाराष्ट्रको नवी मुम्बईमा आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहका क्रममा तातो हावा ‘लू’ का कारण ११ जनाको मृत्यु भएको छ।

Advertisement
NiccNicc

वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कारबाट सम्मानित गर्न उक्त समारोह आयोजना गरिएको थियो ।

समारोहमा सहभागी हुन ठूलो संख्यामा मानिसहरु भेला भएका थिए । उक्त समयमा कार्यक्रमस्थल नवी मुम्बईको तापक्रम ४० डिग्रीभन्दा बढी पुगेको र त्यसै समयमा केही मानिसलाई लू लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लू लागेका मानिसहरुलाई तत्काल अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याइएकामध्ये ११ जनाको उपचारको क्रममा ज्यान गएको अधिकारीहरुले बताएका छन् । २४ जना भने उपचार पछि घर फर्किएका छन् । मृत्यु हुनेमा ८ महिला छन् भने अधिकांश वृद्ध उमेरका छन् ।

नवी मुम्बईको खारघरस्थित खुला मैदानमा आइतबार बिहान साढे ११ देखि १ बजेसम्म उक्त पुरस्कार समारोह भएको थियो ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले मृतकका परिवारलाई ५ लाखको दरले राहत प्रदान गरिने घोषणा गरेका छन् ।

प्रतिक्रिया