सुडानबाट करिब दुई लाख मानिस विस्थापित

काठमाडौँ । सुडानबाट अप्रिलको मध्यमा सुरु भएको द्वन्द्वबाट बच्न करिब दुई लाख मानिस भागेको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ ।
“सुडानमा हिंसा चौथो हप्तासम्म जारी रहँदा सुडानी शरणार्थीसहित स्वदेश फर्केकाहरू गरी कूल दुई लाख व्यक्ति विस्थापित भएका छन्,” संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका प्रवक्ता ओल्गा सारडोले जेनेभामा पत्रकारहरूसँग भने ।
सुडानमा गत अप्रिल १५ मा सुरु भएको द्वन्द्वका कारण थप सात लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले जनाएको छ । सुडानमा ७५० भन्दा बढीको मृत्यु भएको र लाखौँ विस्थापित हुने गरी भएको द्वन्द्व सुरु भएको करिब एक महिनापछि बिहीबार साउदी अरबको जेद्दाह शहरमा भएको वार्तामा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
वार्तामा उनीहरू युद्ध विरामका लागि सहमत भएका छैनन् । तर, उनीहरूले नागरिकहरूको रक्षा गर्ने कसम खाएका छन् । गरिब देशमा सहायतालाई लक्षित गरी लुटपाट र आक्रमणपछि अति आवश्यक मानवीय सहायता प्रदान गर्न प्रतिबद्ध भएका छन् ।
संयुक्त राष्ट्रसंघका सुडानका दूत भोल्कर पर्थेसले यो सम्झौता ‘पारस्परिक प्रतिबद्धता’को प्रतीक भएकाले महत्वपूर्ण रहेको बताए । “मलाई लाग्छ यो पहिलो कदम हो र एक महत्वपूर्ण पहिलो कदम हो,” उनले पोर्ट सुडानबाट भिडियो लिङ्कमार्फत जेनेभामा पत्रकारहरूसँग भने ।
“युद्धविरामसम्बन्धी वार्ता आज वा भोलिबाट फेरि सुरु हुने अपेक्षा गरेका छौं,” उनले भने । यद्यपि, तत्काल केही पनि परिवर्तन हुने देखिएन र दुई प्रतिद्वन्द्वी जनरलको फौजले शुक्रबार खार्तुममा फेरि गोली चलाएका छन् ।
संयुक्त राष्ट्र संघीय बालबालिकासम्बन्धी निकाय युनिसेफले सुडानको राजधानीमा कुपोषणविरुद्ध लड्न उपचारात्मक खाना उत्पादन गर्ने कारखाना जलेर नष्ट भएको र १४ हजार ५०० बालबालिकाको जीवन रक्षक उपचार नष्ट भएको चेतावनी दिएको छ ।
युनिसेफका प्रवक्ता जेम्स एल्डरले जेनेभामा पत्रकारसँग भने, “यो द्वन्द्वले बालबालिकाको जीवनलाई विभिन्न माध्यमबाट कसरी खतरामा पार्छ भन्ने कुराको यो अहिलेसम्मको सबैभन्दा अँध्यारो र विशिष्ट दृष्टान्त हो ।”
हालैका दिनहरूमा करिब ३० हजार शरणार्थीहरू चाड आइपुगेको र हालैका हप्ताहरूमा सुडानबाट आएका शरणार्थीहरूको सङ्ख्या ६० हजार पुगेको उनले बताए ।
“लगभग ९० प्रतिशत शरणार्थीहरू बालबालिका र महिलाहरू छन्, जसमा धेरै गर्भवती महिलाहरू पनि छन्,” उनले थपे । उनका अनुसार छ महिनादेखि पाँच वर्ष उमेर समूहका २० प्रतिशत बालबालिका कुपोषित रहेको पाइएको छ ।
















राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया