बिहीबार, माघ २२, २०८२

झण्डै पाँच लाख भ्रष्टाचारको आरोपमा खोटाङका सिडिओसहित १० जनाविरुद्ध मुद्दा दायर

मेरोन्यूज २०८० साउन ७ गते २१:०१

काठमाडौँ । विद्युतीय सामानमा भ्रष्टाचार गरेको आरोपमा खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडासहित १० जनाविरुद्ध मुद्दा दायर भएको छ ।

विद्युतको पोल, तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

यसअघि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीसहितविरुद्ध मुद्दा दायर गरेको हो ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका १० मा आर्थिक वर्ष ०७५(७६ मा विद्युतीकरणका लागि आवश्यक विद्युतीय सामग्री खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो ।

त्यसवेला खतिवडा सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत थिए ।

आयोगले दायर गरेको मुद्दामा सिडिओ खतिवडासँगै नेपाल विद्युत् प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, सिद्धिचरण नगरपालिका १० का तत्कालीन वडाध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल, तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकी छन् ।

यस्तै, नेपाल विद्युत् प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, भण्डार प्रमुख वीरबहादुर राई, नमामी सप्लायर्सका प्रोपाइटर सञ्जीवकुमार यादव, उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला र कोषाध्यक्ष गोठीमाया मगर रहेका छन् ।

नमामी सप्लायर्स लहानको नाममा फर्जी बिल बनाएर चार लाख ७७ हजार ८९९ रुपैयाँ भुक्तान गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया