बिहीबार, माघ २२, २०८२

गुण्डा नाइके सानुभाइ उर्फ युवराज गुरुङलाई १० हजार धरौटीमा छाड्न अदालतको आदेश

मेरोन्यूज २०८० साउन १० गते १७:५१

काठमाडौँ । गुण्डा नाइके चिनिने सानुभाइ उर्फ युवराज गुरुङलाई १० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले अभद्र व्यवहारको कसूरमा गुरुङलाई १० हजार रुपैयाँ धरौटी राखेर छाड्न आदेश दिएको हो ।

तर, अदालतले छाड्न आदेश दिए पनि उनले पुरानो मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेको देखिएकाले कारागार पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

काठमाडौं–२६, ठमेलस्थित क्लब ओम्नियामा गएर सञ्चालक राजेन्द्र गुरुङसहित अरु कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए । गुरुङका समूहका अरु ६ जना रघु तामाङ, विनोद तामाङ, कमल तामाङ, निरु भनिने निरज गुरुङ, विश्व तामाङ र विक्रम अधिकारी ८÷८ हजार धरौटीमा छुटेका छन् ।

१५ असारमा क्लब बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप थियो ।

सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय रहेको प्रहरी बताउँछ ।

काठमाडौं प्रहरीका एसएसपी दानबहादुर कार्कीले गुरुङ २५ पुस २०७२ मा नुवाकोटबाट २८ बोर रिभल्वर र एउटा गोलीसहित पक्राउ परेका थिए । गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।

२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो ।

प्रतिक्रिया