शुक्रबार, फागुन ८, २०८२

गृहमन्त्रीले उच्चस्तरीय समिति गठनको प्रतिबद्धता नजनाए एमालेले संसद् पुन: अवरोध गर्ने

मेरोन्यूज २०८० साउन २३ गते १५:०८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठनको प्रतिबद्धता नआए पुनः संसद्मा अवरोध गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ गते अवैध रुपमा सुन बाहिरिएको विषयलाई लिएर १० साउनदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्रीलाई बोल्न दिन सहमति जनाएको छ ।

बिहान प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा भएको मुख्य दलका शीर्ष नेताहरूको छलफलमा गृहमन्त्री श्रेष्ठलाई धारणा राख्न दिन एमाले सहमत भएको हो ।

एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठलाई जवाफ राख्न दिने र गृहमन्त्रीबाट उच्चस्तरीय समिति गठनको प्रतिबद्धता नआए विरोध गर्नेगरी आजको बैठक चल्न दिन एमाले तयार जानकारी दिए ।

‘गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जवाफ राख्न दिने र गृहमन्त्रीबाट उच्चस्तरीय समिति गठनको प्रतिबद्धता नआए विरोध गर्नेगरी आजको बैठक चल्न दिन एमाले तयार भएको हो । हाम्रो भनाइ अनुरुप भएन भने पुनः अवरोध गर्छौ,’ बर्तौलाले भने ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित बसेको शीर्ष नेताको बैठकमा एमाले गृहमन्त्रीलाई धारणा राख्न दिन लचकता देखाएको हो ।

सचेतक बर्तौलाले भने, ‘आज अपराह्न ३ बजे सदन अगाडि बढ्छ, गृहमन्त्रीले उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता जनाए बैठक अगाडि जाने र समिति गठन गर्ने प्रतिबद्धता नआए हामीले उठेर विरोध गर्छौँ ।’

शीर्ष तहको बैठकमा सरकारका तर्फबाट उच्चस्तरीय समिति गठन नगर्ने अडान कायमै भए पनि गृहमन्त्रीको जवाफ सुन्नका लागि सदन चल्न दिने निष्कर्षमा पुगिएको उनले बताए ।

प्रतिक्रिया