उमेरले छेकेन प्रेमकुमारीको पढ्ने रहरलाई

बाँके । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्छिन् । बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्छिन्। कक्षामा नियमित उपस्थित हुने उनको अरू विद्यार्थीसरह पढाइमै ध्यान केन्द्रित हुन्छ ।
ज्ञानज्योति माविको कक्षा ६ मा दिनहुँ देखिने यो दृश्यले हिजोआज धेरैलाई आश्चर्यचकित बनाएको छ । यसले सबैलाई खुसी पनि तुल्याएको छ । कोहलपुर–५ एनसिसिएन टोल निवासी गिरी इच्छाशक्ति भए पढाइलाई उमेरले छेक्न नसक्ने गतिलो उदाहरण बनेकी छिन् ।
“हरेक व्यक्तिले शिक्षा अनिवार्य लिनुपर्छ पढाइभन्दा ठूलो चीज जीवनमा अरू केही छैन्”, उनी भन्छिन्, “नातिनातिनासँग पढ्न पाउँदा र छोराहरुले मलाई सिकाउँदा निकै खुसी लागिरहेको छ ।” प्रेमकुमारीले आफ्ना छ सन्तान हुर्काइसक्नुभएको छ । उनका छोराछोरी आ–आफ्नो व्यापार व्यवसायमा सक्रिय छन् ।
कान्छी छोरी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियामा छिन् । पढ्ने इच्छा हुँदाहुँदै पनि विगतमा घरपरिवार र छोराछोरी हुर्काउँदा विद्यालय जान नपाएको उनको भनाइ छ । अहिले घरपरिवारमा फुर्सद मिलेपछि विद्यालय भर्ना भएर पढाइ सुरु गरेको प्रेमकुमारीले बताइन् ।
“मैले सानोमा पढ्न पाइनँ, घरकै काममा व्यस्त हुनुपर्यो”, उनले भनिन्, “बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेकी छु ।” नातिनातिना उमेरका सहपाठीसँग पढ्दा रमाइलो हुने गरेको उल्लेख गर्दै उनले भनिन्, “बिहान खाना खाएर विद्यालय आएपछि कक्षामा पढ्दा समय बितेको थाहा हुँदैन, बालबच्चासँग रमाइलो गरी पढ्ने गरेकी छु ।”
आफ्नो वडाको विद्यालय घरबाट टाढा पर्ने भएका कारण ११ नं वडामा रहेको विद्यालयमा भर्ना भएको उनको भनाइ छ । ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन् । विद्यालयमा नियमित रुपमा उपस्थित हुने प्रेमकुमारीको कक्षा कोठा सिकाइस्तर सामान्य रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले बताए।
“कहिलेकाहीँ बिरामी हुँदा आउनुहुन्न, अरू बेला कक्षामा उहाँ नियमित रुपमा उपस्थित हुनुहुन्छ”, प्रधानाध्यापक ढकालले भने “लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य रहेको छ ।” मलाई पढ्ने रहर लाग्यो, विद्यालयमा भर्ना गरिदिनूस् भनेपछि कक्षा ६ मा प्रेमकुमारीलाई भर्ना गरिदिएको प्रधानाध्यापक ढकालले जानकारी दिए । पाँच सय ६८ विद्यार्थी रहेको सो विद्यालयमा कक्षा ६ मा अन्य दुई विद्यार्थी पनि ३० वर्ष माथिको उमेर समूहका रहेको प्रधानाध्यापक ढकालले बताए ।
विद्यालयले आयोजना गरेको विद्यार्थीसँग मेयर कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बिहीवार ६१ वर्षीय विद्यार्थी प्रेमकुमारी गिरीलाई सम्मान गरे । उनले इच्छा शक्ति भए जुनसुकै उमेरमा पनि पढाइ गर्न सकिने कुरालाई प्रेमकुमारीले पुष्टि गरेको भन्दै खुसी व्यक्त गरे।
प्रेमकुमारीले पढ्ने गरेको सकारात्मक कार्यको अन्य दिदीबहिनी तथा आमाहरुले पनि देखासिकी गरी अध्ययन कार्य गर्न लाज नमान्न नगरप्रमुख आचार्यले आग्रह गरे ।

















Slight decline in gold, silver prices
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
4 dead in crashes involving over 30 vehicles in ‘brown out’ conditions on Colorado interstate
२२ करोड पैतालिस लाख राजस्व सङ्कलन
Vice President Yadav’s best wishes on Gyalpo Lhosar
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया