सोमबार, फागुन ४, २०८२

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक भदौ १८ गतेसम्म स्थगित

मेरोन्यूज २०८० भदौ १२ गते १६:३८

काठमाडौं । ‘केही नेपाल ऐन संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने बेलामा प्रतिनिधि सभामा गणपूरक संख्या अपुग भएको छ । गणपूरक संख्या नपुगेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुतछ भएन । त्यसपछि सभामुख देवराज घिमिरेले बैठक भदौ १८ गतेसम्मका लागि स्थगित गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार प्रतिनिधि सभामा सैद्धान्तिक छलफलपछि सभामुख देवराज घिमिरेले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लागेका थिए । तर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, नेकपा एमालेका सांसद ठाकुर गैरे र दामोदर बैरागीले संसदमा गणपूरक संख्या नपुगेकाले प्रस्ताव पेस गर्न नपाइने बताएका थिए ।

सभामुख घिमिरेले ३ मिनेट घण्टी बजाई सांसदहरुको संख्या यकीन गर्दा गणपूरक संख्या पुगेन ।

संविधानको धारा ९४ मा प्रतिनिधिसभामा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा कुनै प्रस्ताव निर्णयार्थ पेस गर्न ६९ जना सांसदहरु उपस्थित हुनुपर्छ । तर सभामुखको निर्देशनपछि गणना गर्दा ५९ जना सांसदमात्र उपस्थित देखियो ।

त्यसपछि सभामुख घिमिरेले विधेयक विचार गरियोस् भन्ने प्रस्ताव रोक्दै कार्यसूचीमा रहेका अन्य विषय पनि हटाएर बैठक भदौ १८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरे ।

प्रतिक्रिया