शनिबार, माघ २४, २०८२

सहकारीको रकम हिनामिना आरोपमा ग्यालेक्सी फोके टिभीका अध्यक्ष राईविरुद्ध पक्राउ पुर्जी जारी

मेरोन्यूज २०८० भदौ २४ गते १९:२४

पोखरा । बचतकर्ताहरुको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गरेको आरोप लागेका सूर्यदर्शन सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित ७ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेको छ । राई ग्यालेक्सी फोके टेलिभिजनका अध्यक्षसमेत हुन् ।

पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारीमार्फत बचतकर्ताको बचत हिनामिना गरेको भन्दै ९ सय ७१ जनाले उजुरी दिएका थिए । राईसहित सञ्चालक समितिका ७ जनाविरुद्ध आइतबार जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुर्यबहादुर रानाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ३२ गते सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो । जाहेरी दिएकाबाट १ अर्ब ८ करोड ११ लाख रुपैयाँ फिर्ता माग भएको प्रहरी निरीक्षक रानाले जानकारी दिए ।

पोखरा महानगर ४, नालाकोमुखमा रहेको सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना तथा ठगी गरेर फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरूलाई जाहेरी दिन सार्वजनिक सूचना निकालेको थियो ।

प्रतिक्रिया