शनिबार, माघ २४, २०८२

गैह्रीगाँउ हत्याकान्ड : शंकास्पद थप ४ जना पक्राउ

मेरोन्यूज २०८० भदौ ३० गते १०:५४

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले थप चार जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई काठमाडौंको जडिबुटी क्षेत्रबाट पक्राउ गरिएको हो । प्रहरीले अनुसन्धानमा प्रयोग गरेको कुकुरले पनि जडीबुटी षेत्रसम्म लोकेशन पत्ता लगाएको र त्यहाँ पुगेर अलमलिएको बताइएको थियो ।

प्रहरीले घटनामा संग्लन्न भएको आशंकामा त्यही क्षेत्रबाट ४ जनालाई पक्राउ गरेको हो । यधपी उनीहरुको परिचय दिन प्रहरीले मानेको छैन । उनीहरुको परिचय गोप्य राखेर नै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले एक जना दीपेन्द्र राईलाई यस अगाडी नै पक्राउ गरिसकेको छ । उनी आफै ट्याक्सी चढेर प्रहरीलाई घटनाबारे सूचना दिन पुगेका थिए । रगत लागेको कपडा र जुत्ता देखिएको र मदिरा समेत उनले पिएको अवस्थामा भेटिएपछि उनलाई पनि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेर राखेको छ । यधपी उनी घटनामा संग्लन भएको वा सूचना दिन गएको भन्ने बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको थियो।

खबरपश्चात तत्काल सःमिल पुगेको प्रहरीले चार जनाको विभत्स हत्या भएको अवस्थामा शव फेला पारेको थियो।

मृतकको टाउको,घाँटी लगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार भएको देखिएको छ।

हत्यामा प्रयोग भएको हतियार प्रहरीले खोजिरहेको छ।

घटना भएको सःमिल दोलखाका एमाले नेता बालकृष्ण सिवाकोटीको हो। घटनाको अनुसन्धान काठमाडौं जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरिरहेको छ।

प्रतिक्रिया