बिहीबार, वैशाख १०, २०८३

फतुवा विजयपुर नगरपालिका प्रमुख यादव भ्रष्टाचारी ठहर

मेरोन्यूज २०८० असोज १६ गते २०:४२


रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। मंगलबार विशेष अदालतले लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापनका विषयमा फैसला गर्दै प्रमुख यादवलाई कसुरदार ठहर गरेको हो।

Advertisement
NiccNicc

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासले प्रमुख यादवलाई दोषी ठहर हुने फैसला सुनाएको हो ।

विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले यादव दोषी ठहर भए पनि यस मुद्दाका अन्य २० जना प्रतिवादीले भने सफाइ पाएको जानकारी दिए ।
‘एकजना माथि कसुर कायम भयो। अन्यले सफाइ पाउनुभएको छ। दोषीमाथि २४ असोजमा सजाय निर्धारण हुने गरी पेसी तोकिएको छ,’ कार्कीले भने।

यादव लगातार दोस्रोपटक नगरपालिकाको प्रमुख बनेका थिए । स्थानीय तह निर्वाचनमा पनि प्रमुखमा निर्वाचित भएका यादव भ्रष्टाचारी ठहर भएसँगै पदमुक्त भएका छन्।

लालबकैया नदीको आन्तरिक आयसम्बन्धी जिल्ला समन्वय समितिको रोहबरको बैठकबाट दुई नगरपालिकाले संयुक्त रूपमा ढुंगा, गिटी र बालुवाको ठेक्का लगाउने र प्राप्त हुन आउने आयलाई बाँडफाँट गर्ने सहमति भएको थियो।

विजयपुरलाई ६० र गुजरा नगरपालिकालाई ४० प्रतिशत दिने निर्णय भएको थियो। तर, विजयपुरले ठेक्का रद्द गरेको थियो। आर्थिक वर्ष ०७५।७६ मा प्रमुख यादवले ठेक्का रद्द गरेका थिए।

निर्णयले सरकारलाई घाटा भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उक्त उजुरीउपर अनुसन्धान गरी गत वर्ष मुद्दा चलाइएको थियो।

प्रतिक्रिया