मुस्ताङमा कोरला नाका सञ्चालनको तयारी

म्याग्दी । मुस्ताङमा रहेको नेपाल–चीनबीचको कोरला नाका सञ्चालनका लागि तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो ।
कोरला नाका सञ्चालनको तयारी भएसँगै सीमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्र वितरण गर्ने प्रक्रिया अघि बढाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
“अनुमतिपत्र बुकलेट छपाइसम्बन्धी सबै काम पूरा भएको छ,” उनले भने, “गृह मन्त्रालयले पठाएको नमूनाअनुसार चीन प्रवेशपास छपाइ गरेर वितरणका लागि तयारी गरेका छौँ ।” चीनको सिमाना नजिकको उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाबाट प्रवेश पासको आवेदन सङ्कलन गरिएको छ ।
बोर्डर पास वितरणका लागि चार कर्मचारीलाई सोमबार लोमान्थाङस्थित इलाका प्रशासन कार्यालय पठाइएको प्रजिअ पन्तले बताए । “नाका खोल्ने निर्णय भए पनि मिति तय भइसकेको छैन,” उनले भने, “चिनियाँ सुुरक्षा अधिकारीसँग बैठक र गृह मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो नाका सञ्चालन गर्ने तयारीमा छौँ ।”
कोरोना महामारी सुरु भएपछि कोरला नाकामा हरेक वर्षको दुईपटक सञ्चालन हुदैं आएको अन्तरदेशीय व्यापार मेला विसं २०७६ देखि भएको थिएन् । दसैं अघि नै व्यापार मेला आयोजना गर्ने मुस्ताङका सुरक्षा अधिकारी र जनप्रतिनिधिहरुले पहल गरेका छन् । प्रवेशपास भएका नागरिकहरु जुनसुकै समयमा पनि चीन जाने आउने सुविधा पाउनेछन् ।
असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ । प्रजिअ पन्तले १५ अक्टोबरमा नेपाल र चीनका अधिकारीबीच बैठक बस्ने तयारी भएको बताए ।
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । विसं २०५८ सालसम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ ।
नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने अपेक्षा गरेका छन् । यसैगरी, पस्मिना, जडीबुटी निकासी गर्न पनि सकिने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टले बताए ।
















वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
RSP urged to abide by Election Code of Conduct
Nepal-Qatar economic partnership discussedKathmandu : A visiting Qatari
23 days left to go for HoR polls: Ballot paper printing of 44 districts completed
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया