मंगलबार, माघ २७, २०८२

बीआरआई सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन जाने

मेरोन्यूज २०८० असोज २४ गते १०:००

काठमाडौं । तेस्रो बीआरआई सम्मेलनमा भाग लिनका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) चीन जान लागेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ २९ असोजमा चीन भ्रमणमा जान लागेका हुन् । उनको भ्रमणका बारेमा उनको प्रेस सल्लाहकार कमल गिरिले पुष्टि गरेका छन् ।

‘हो उहाँ चीन भ्रमणमा जान लाग्नुभएको छ,’ गिरिले मेरोन्यूजसँग भने ।

चीन सरकारले ३० असोज र १ कार्तिक (१७ र १८ अक्टोबर) मा तेस्रो बीआरआई फोरम आयोजना गर्दैछ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले २०१३ मा बीआरआई परियोजना सुरु गरेका थिए । उक्त परियोजना सुरु भएको एक दशक पूरा भएको उपलक्ष्यमा तेस्रो फोरम आयोजना गर्न लागेको हो ।

चीनको महत्वकांक्षी यो परियोजनामा विश्वका एक सय ५० भन्दा बढी मुलुक सहभागी भइसकेका छन् । त्यस क्रममा चीनले ५० खर्ब अमेरिकी डलरभन्दा बढ्ता खर्च गरिसकेको छ । नेपालले सन् २०१७ मा बीआरआई परियोजनामा सहभागी हुने सहमति गरेको थियो । तर, अहिलेसम्म बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयन हुन सकेका छैनन् ।

आन्तरिक राजनीतिमा देखिएको खिचातानीका कारण बीआरआई कार्यक्रम अन्तर्गतका परियोजना छनौट भए पनि गति भने लिन सकेको छैन । दोस्रो बीआरआई फोरममा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा उच्चस्तरीय टोली चीन भ्रमणमा गएको थियो । त्यतिबेला भण्डारीले विशेष सम्बोधन गरेकी थिइन् ।

चीनले बीआरआई परियोजनाले एक दशक पूरा गरेका कारण तेस्रो बीआरआई फोरमबाट परिमार्जित रुपमा अगाडि बढाउने नीति लिएको छ । तेस्रो बीआरआई फोरम फर इन्टरनेशलन कोअपरेशनको मूल थिम भने ‘हाई क्वालिटी बीआरआई कोअपरेशनः टुगेदर फर कमन डेभ्प्लमेन्ट एण्ड प्रस्परेटी’ रहेको छ ।

प्रतिक्रिया