शनिबार, माघ २४, २०८२

भूकम्पका घाइतेहरुको राष्ट्रपतिसँग आग्रह- उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिनुस्

राष्ट्रपतिको बचन : चिन्ता गर्न पर्दैन, म सरकारसँग कुरा गर्छु

मेरोन्यूज २०८० कार्तिक २१ गते १३:४८

जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा छन् । बिहान काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट उनी आज जाजरकोट आईपुगेका हुन् ।

जाजरकोटमा सुरक्षाकर्मीहरुको सामान्य विफ्रिङ लिएर राष्ट्रपति पौडेल घाइतेहरुको उपचार भईरहेको अस्पताल पुगे । अस्पतालमा उनले केही घाइतेहरुसँग कुराकानी गरे । एकातिर घर गुमेको, अर्काेतिर आफन्त गुमेका र आफु समेत घाइते अवस्थामा उपचार गराईरहेका घाइते भेटेपछि राष्ट्रपति पौडेलसमेत भावकु बनेका थिए ।

त्यसमा भावुकता झन् भुकम्प पीडितहरुले राष्ट्रपतिसँग गरेको आग्रहले बनाएको थियो । उनीहरुले उपचार, खाध्यान्न र घर निर्माणसहित बाँच्ने आधारको ब्यवस्था गरिदिन आग्रह गरे ।

घाइतेहरुको बिलौना सुनेपछि राष्ट्रपति पौडेलले यसबारेमा सरकारसँग आफुृले गम्भिर भएर कुरा राख्ने आश्वासन दिए । झण्डै ६ सय केजी राहत सामाग्री बोकेर पुगेका राष्ट्रपतिसँग घाइतेहरुले उपचारमा सरकारले गरिरहेको सहयोग प्रति धन्यवाद पनि दिएका थिए । तर उपचार अझ सहज बनाउन, इपिसेन्टरमै खाध्यान्ह लगायतका राहत सामाग्री नपुगेकोबारेमा गुनासो पोखेका थिए ।

त्यसपछि पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका थिए । राष्ट्रपति पौडेलको भनाई उदधृत गदै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ। चिन्ता गर्न पर्दैन। म सरकारसँग कुरा गर्छु।’

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे जानकारी गराएका थिए। त्यस्तै घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले राष्ट्रपतिलाई अबगत गराएका थिए ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा जाजरकोटमा मात्रै १०१ जनाको मत्यु भएको थियो । झण्डै ८ हजार ४ सय को घरमा क्षति पुगेको थियो ।

भोलि देखि यूरोप भ्रमणको तयारी गरिरहेका पौडेल अन्तिम समयमा आफनो भ्रमण स्थगित गरेर भूकम्प प्रभवित जिल्लाको अवस्थाबारे जानकारी लिन आज जाजरकोट आईपुगेका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठबीसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाबारेमा जानकारी लिनेछन्।

राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का, उर्जामन्त्री समेत रहेका जाजरकोटका सांसद शक्तिबहादुर बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति लगायत सहभागी छन्।

प्रतिक्रिया