शनिबार, माघ २४, २०८२

१२ वर्षीया बालिका बलात्कार गर्ने ६० वर्षीय दुलालविरुद्ध मुद्दा दर्ता

मेरोन्यूज २०८० कार्तिक २४ गते १४:३४

काठमाडौं । काठमाडौं महानगरपालिका–७ गौरीघाटस्थित मिलन चोकमा १२ वर्षीया बालिकालाई बलात्कार गर्ने ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीघाट बस्ने ६० वर्षीय तारानाथ दुलाल रहेका प्रहरीले जनाएको छ।

प्रहरीले नाबालिकालाई बलात्कार गरेको कसुरमा पक्राउ परेका दुलालविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। गत असोज १९ गते साँझ दुलालले १२ वर्षीया बालिकालाई आफ्नो घरको कोठामा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

असोज १९ गते साथीहरुसँग खेल्न भनेर घरबाट बाहिर निस्केकी १२ वर्षीया बालिकालाई दुलालले कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ।

असोज २६ गते स्कूलबाट कोठामा फर्कने क्रममा पुनः ६० वर्षीय दुलालले आफ्नो कोठामा लगेर बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

‘असोज २६ गते स्कूलबाट कोठा फर्किने क्रममा साथीहरुसँग खेल्दै आएका २ जना साथीहरुलाई पर पठाइ दिनको साढे १२ बजे मेरो छोरीलाई तानी कोठाभित्र लगेर पुनः ढोका लगाइ छोरीको कपडा खोली, एक हातले मुख थुनेर बलात्कार गर्दै कसैलाई भनिस् भने ठिक पार्छु भनि डर त्रास देखाई बलात्कार गरेको पाइएकाले कारबाही गरी पाउँ,’ पीडित बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

२ पटकसम्म दुलालबाट बलात्कार भएपछि पीडित बालिकाले रुँदै आमालाई बताएकी थिइन्। त्यसपछि उनीहरुले प्रहरीमा जाहेरी दिएका थिए।

आरोपित दुलालले बलात्कार गरेको स्वीकार गरेको अभियोगपत्रमा उल्लेख छ। ‘आफ्ना नाति–नातिनाहरुसँग खेल्न पीडित भनिएकी १२ वर्षीया बालिका आएको असोज १९ गते घरमा श्राद्ध थियो। उनी म बसेको कोठामा पनि आउने जाने गर्थिन्। सोही बेला मैल उनको संवेदनशील अंगमा समाती तान्न खोज्दा इन्कार गरेकाले छाडिएको हुँ,’ अभियोगपत्रमा दुलालले गरेको बयान उल्लेख गरिएको छ।

असोज २६ गते पीडित बालिकालाई बलात्कार गरेको दुलालले स्वीकारेका छन्। ‘असोज २६ गते दिउँसो साढे १२ बजेतिर उनी मेरो घर आएकी थिइन्। घरमा कोही थिएनन्। त्यसैको मौका पारी मैले उनलाई बलात्कार गरेको हुँ,’ दुलालले बयानमा स्वीकारेका छन्।

दुलालविरुद्ध १२ वर्षीया बालिकालाई बलात्कार गरेकाले २० वर्ष कैद माग दाबी गर्दै मुद्दा चलाइएको छ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसमार १० वर्षभन्दा माथि र १४ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरेमा १८ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया