सोमबार, माघ २६, २०८२

भूकम्प पीडितका टहरामा निःशुल्क बिजुली बत्ती जडान

मेरोन्यूज २०८० कार्तिक २५ गते ८:५२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भूकम्प पीडितका अस्थायी टहरामा निःशुल्क बिजुली बत्ती जडान गरेको छ ।

१७ गते राती जाजरकोट केन्द्र बिन्दु भई गएको भुकम्पले जाजरकोट र रुकुमपश्चिममा ठुलो क्षती पुर्याएको थियो । जस्का कारण भूकम्पबाट पीडितहरु अहिले अस्थायी टेन्ट बनाएर बसिरहेका छन् ।

प्राधिकरणले भूकम्प पीडितहरु बसेका टेण्टमा एउटा बल्ब र अन्य खुल्ला तथा सार्वजनिक ठाउँमा बढी उज्यालो दिने ठूला बल्प (भ्यापर लाइट) निःशुल्क जडान गरेको छ ।

नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवका अनुसार भूकम्पपीडितहरु बसिरहेका सबै टेण्डमा ४ सयभन्दा बढी बल्ब र खुल्ला ठाउँहरुमा करिब ५० वटा भ्यापर लाइट जडान गरिएका छन् ।

‘भूकम्प पीडितहरुका टेन्टभित्र व्यवस्था गरिएको बिजुलीको मिटर पनि जडान गरेका छैनौं, शुल्क पनि लिएका छैनौं,’ नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख यादवले भने ।

प्रमुख यादवले प्राधिकरणसँग रहेका बल्बहरु लगेर त्यस भूकम्प प्रभावित क्षेत्रमा जडान गरिएको बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा केही ग्राहकले माइक्रोहाइड्रोबाट विद्युत् आपूर्ति लिइरहेकोमा भूकम्पले क्षति पुर्याएपछि अहिले प्राधिकरणकै प्रणालीबाट विद्युत् आपूर्तिको व्यवस्था गरिएको जानकारी दिएका छन् ।

भूकम्पका कारण पोल र लाइनहरुमा क्षतिपुग्दा उक्त क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । जस्लाई प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मत गरी तत्कालै त्यस क्षेत्रमा विद्युत् सुचारु गरेको छ ।

प्रतिक्रिया