शुक्रबार, माघ २३, २०८२

जसपामा समानान्तर समिति बनाउनेलाई कारबाही प्रक्रिया अघि बढ्यो

मेरोन्यूज २०८० कार्तिक २७ गते १५:३९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सप्तरी जिल्लामा पार्टीको समानान्तर समिति बनाउने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

जसपा प्रवक्ता मनिष सुमनले जिल्ला भेला गरेर समानान्तर समिति बनाउने कार्य अवैधानिक भएकाले जिल्ला समितिले कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले सिराहाको लहानमा कात्तिक २२ गते मधेस प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइरहेका बेला सप्तरीमा उमेश यादवको नेतृत्वमा समानान्तर कमिटी गठन भएको थियो ।

जसपाका कार्यकारिणी सदस्य रेणु यादव, केन्द्रीय सदस्य शैलेन्द्र साहलगायतको सहभागितामा समानान्तर समिति बनेपछि जिल्ला अध्यक्ष केदार यादव नेतृत्वको जिल्ला समितिले समानान्तर समिति बनाउनेलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

जिल्ला अध्यक्ष यादवले जिल्लाका नेता तथा कार्यकर्तालाई भ्रमित गरेर केही व्यक्तिले अर्को समिति गठन गरेकाले पार्टी विधानविपरीत काम गर्नेलाई जिल्ला समिति बैठकबाट कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिए । समानान्तर समिति बनाउने भेलामा सहभागी केन्द्रका नेतालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिसकेको उनले जानकारी दिए ।

जिल्ला समितिले उमेश यादव, दयानाथ गोइतलगायतलाई कारबाही गर्ने तयारी गरिरहेको र केन्द्रीय नेता रेणु यादव, शैलेन्द्र साह, भीमराज यादव, सत्यदेव यादव, विनोद चौधरीलगायतलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको यादवले बताए ।

उता समानान्तर समिति बनाउने नेताहरुले भने पार्टी अनुशासित र क्रियाशील बनाउनका लागि जिल्ला भेला गरेर अगाडि बढ्नेलाई कारबाही गर्न छाडेर पार्टीलाई कसरी व्यवस्थित गर्ने, सबै नेता तथा कार्यकर्तालाई कसरी समान रूपमा अगाडि बढाउने बारेमा सोच्न नेतृत्वलाई आग्रह गरिरहेका छन् ।

२०७९ को स्थानीय चुनावदेखि नै सप्तरीमा जसपाभित्र विवाद छ । चुनावमा टिकट वितरणको विषयलाई लिएर एक अर्कालाई हराउनेसम्मका काम भएको थियो । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पनि त्यस्तै भएको थियो । जसका कारण जसपाका अध्यक्ष उपेन्द्र यादव पनि चुनावमा हार बेहोरेका थिए । त्यो पार्टीभित्रको आन्तरिक विवादको नतिजा भएको बताइन्छ ।

पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएपछि कात्तिक २२ गते असन्तुष्ट पक्षले भेला बोलाएर समानान्तर समिति गठन गरेको हो । सबै जिल्लामा समानान्तर समिति बनाउने असन्तुष्ट समूहको छ ।

प्रतिक्रिया