अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्यपदक

काठमाडौँ । कात्तिक २० देखि २८ गतेसम्म चीनको राजधानी बेइजिङमा भएको २७ औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्यपदक जितेको छ ।
प्रतियोगितामा दृशान्तकुमार महर्जनले नेपालका लागि कास्यपदक दिलाएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
सोसाइटी सन् २०१८ देखि अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुँदै आएको छ । नेपालले यसअघि सन् २०१९ मा पनि ओलम्पियाडमा कास्यपदक जितेको थियो । सन् २०१४ देखि सुरु राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाडबाट जीत हासिल गरेका विद्यार्थीले हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडमा भाग लिँदै आएका छन् ।
नेपालले सन् २०१४ देखि अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाडमा भाग लिँदै आएको छ । सोअन्तर्गत हालसम्म विद्यार्थीले नेपालका लागि १२ सम्मानार्थ पदक र दुई कास्यपदक हात पारेको छ । सन् २०२२ मा स्थापित अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाड–जुनियरमा हालसम्म नेपाली विद्यार्थीले तीन सम्मानार्थ पदक प्राप्त गरेको उनले सुनाए ।
के हो राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाड ?
राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाड एक प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगता हो । यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सिफारिस गरिँदै आएको सोसाइटीले जनाएको छ ।
सन् २०१४ देखि सञ्चालन गरिएको यस प्रतियोगिताबाट तीन हजारभन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन् । यस कार्यक्रमले उत्कृष्ट ठहराएका विद्यार्थी देश तथा विदेशमा रहेका उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाएका छन् ।
राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाडमा कक्षा ८–१२ मा अध्ययनरत १३–२० वर्षका विद्यार्थीलाई समावेश गराइन्छ । प्रतियोगितासम्बन्धी थप जानकारी जान्न चाहनेले सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने अध्यक्ष भट्टराईले बताए ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमालेले गर्यो अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव
प्रतिक्रिया